हिमाल दैनिक
विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी विद्यालय सञ्चालक सडकमा

विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउदै निजी विद्यालय सञ्चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

निजी विद्यालय बन्द गराउने गरि विधालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याव्सन, नेशनल प्याव्सन, हिसान लगाएतले संयुक्तरुपमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

विधालय शिक्षा विधेयकको प्रतिवेदनमा रहेका केहि प्रावधानहरु अव्यवहारिक र अन्यायपूर्ण रहेकाले उक्त प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ। 

पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने निजि विद्यालय सञ्चालकहरुको माग रहेको छ। 

विधेयकमा अघि सारिएको प्रावधानप्रति लक्षित गर्दै प्याब्सनका सल्लाहकार डिके ढुङ्गानाले विद्यालयले विधार्थीको अभिभावक बन्न सक्ने तर आमाबाबु नै बनेर जिम्मा लिन नसक्ने बताए।

विधेयकमा रहेका कतिपय अव्यवहारिक बिषयलाई हटाउनुपर्ने उनले बताए।

त्यस्तै आन्दोलनका लागि उदयपुरबाट आइपुगेका प्याव्सन उदयपुरका बरिष्ठ उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले विधेयकमा रहेका केहि प्रावधानहरुले निजी विद्यालय बन्द हुने अवस्थामा पुग्ने भएकाले बाध्य भएर विरोध जनाउनुपरेको बताए।

निजी विद्यालयहरुले भदौ ६ गते शुक्रबार बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने र भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने जनाएका छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update