
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारितसँगै कैलालीको गुटा मेडिकल कलेको दिन फिर्ने सम्भावना पनि बढेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त विधेयक पारित गरियोस भनि राखेको प्रस्ताव सदनबाट सर्वसम्मत पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि नयाँ विश्वविद्यालय खुल्ने बाटो खोलिएको हो।
उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।
त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल भएको थियो।
छलफलका उठेका प्रश्नको जवाफ दिदै मन्त्री पन्तले विधेयक पारित हुनु सूदुरपश्चिमका लागि मात्रै नभई देशका लागि उपलव्धी भएको बताए।
विधेयक नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रको महत्वपूर्ण परिवर्तनको कोशेढुङ्गा भएको उनले बताए।
मन्त्री पन्तले काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर उपचारका लागि भारतको दिल्ली जाने लर्को विश्वविद्यालयको स्थापनापछि कैलालीको गेटामा रोकिने विश्वास व्यक्त गरे।
स्वास्थ्य जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको थियो। विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
विधेयक पारित भएसंगै कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने बाटो खुला भएको छ।