उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन्।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिकमात्रै नभइ उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन्।
निराशाकै कारण व्यापारी र केही युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभएपनि केहि हदसम्म सरकार जिम्मेवार रहेको दाबी गरे।
दुई तिहाई नजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना ठुलो रहने उनको चिन्ता थियो।
उनले आफुहरुको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहेपनि अहिलेसम्मको काम हेर्दा वर्तमान सरकार पाँच वर्ष टिक्ने संकेत नदेखिएको विश्लेषण सुनाए।
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चूनौतिको सामना गर्न पनि तयार रहेको बताए।
अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठुलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे।
उनले बर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी दिए।
हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफुहरुले गर्ने उनको भनाइ छ।
उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको संघको चुनावमा उज्यालो नेपाल बाहेक जनताले अरु कुनै पार्टी नरोज्ने दावी पनि गरे।


