
बुटबलकी प्रकृति लम्सालको रहस्यमय मृत्युको दुई महिना बित्न नपाउँदै भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा फेरि अर्को दुःखदायी घटना घटेको छ।
उच्चशिक्षा अध्ययनका लागि केआईआईटीमा भर्ना भएर अध्ययन गरिरहेकी नेपाली विद्यार्थी प्रिसा साह बिहिबार साँझ कलेजकै छात्रावासमा मृत अवस्थामा भेटिएपछि नेपालस्थित उनको परिवारजनदेखि आम नेपालीजनमा गहिरो शोक परेको छ।
नेपाली विद्यार्थी साहको रहस्यमय दुःखद निधनका विषयमा भारतीय विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साहको परिवारप्रति समवेदना प्रकट गरेको छ।
नयाँ दिल्लीस्थित विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, उक्त घटनाको जानकारी पाएलगत्तै मन्त्रालयले ओडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र प्रदेश सरकारले उक्त दुःखद घटनाको बारेमा विस्तृत छानविनका लागि ओडिसा पुलिसलाई पूर्णरुपले सहयोग गरिरहेको बताएको छ।
घटनाको जानकारी पाएलगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनको मन्त्रालयले भारतीय विदेश मन्त्रालय र कलेज प्रशासनसँग तदारुकताका साथ उक्त घटनाबारे निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याइदिन आग्रह गरेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरी आफ्नो धारणा बाहिर ल्याएको हो।
भारतीय विदेश मन्त्रालयले भारत सरकार आफ्नो देशमा रहेका सबै विदेशी विद्यार्थीहरुको सुरक्षा र उन्नतीका लागि गम्भीर रहेको उल्लेख गर्दै पछिल्लो घटनाको बारेमा भारतीय सरकारका अधिकारीहरुले नेपाल सरकारका प्रतिनिधिहरुसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ।
साथै भारतले ओडिसा प्रदेश सरकार र केआईआईटी व्यवस्थापनसँग उक्त दुःखद घटनाको बारेमा निरन्तर समन्वय, सम्पर्क र वार्तलापमा रही आवश्यक सहयोग गर्न पनि भनेको छ।
गत फागुन दोस्रो साता केआईआईर्टीमा तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्सासको रहस्यमय मृत्यु भएपछि कलेज प्रशासनले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई छानीछानी पिटेर छात्रावासबाट बाहिर निकाल्दै सडक र रेलेवेस्टेशनमा अलपत्र छाडिदिएको थियो।
उक्त विषयमा नेपालभित्र र भारतकै ओडिसामा समेत चर्को विरोध र आलोचना भएपछि कलेज प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई पुनः कलेजमा फर्किएर पठनपाठन निरन्तर अघि बढाउन अनुरोध गरेको थियो।
त्यसमध्ये करिब तीन सय विद्यार्थी नेपाल फर्किएर कलेज फर्किन आनाकानी गरिरहेपछि कलेज व्यवस्थापनले नै उनीहरु र विद्यार्थीका अविभावकहरुलाई अनुरोध गर्दै कलेज फर्किने जहाजको टिकट खर्च नै उपलब्ध गराएको थियो।
यसरी उक्त घटना सेलाउन नपाउँदै अर्को नेपाली विद्यार्थी प्रिसा साहको मृत्युको खबरले नेपालभित्र र बाहिर केआईआईटीसँगै भारतीय कलेजहरुमा विदेशी विद्यार्थीको सुरक्षा खतराबारे गम्भीर आशंका उब्जिएको छ।