
नवयुवा (जेन–जी) आन्दोलनका क्रममा मारिएका शहिद परिवारका एक सदस्यलाई चौधरी ग्रुपले रोजगारीको व्यवस्था गर्ने घोषणा गरेको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गत भदौ २३ र २४ गतेको नवयुवाहरुको आन्दोलनका क्रममा निधन भएका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाकासाथ उच्च सम्मान ब्यक्त गर्दैै यस्तो घोषणा गरेका हुन्।
‘उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ,’ भन्दै प्रवन्ध निर्देशक चौधरीले उक्त पीडादायी दुर्घटनाका बाबजूद पनि आफूहरु दृढ आत्मविश्वासकासाथ पुनःनिर्माणको यात्रामा अघि बढेको बताएका छन्।
साथै उनले यस कठिन समयमा चौधरी ग्रुपले शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न जेन–जी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘यो केवल हाम्रो बाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो,’ भन्दै चौधरीले भनेका छन्, ‘हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ।’
यो अभियानमा चौधरी ग्रुपले सम्पूर्ण शहिद परिवारलाई सम्पर्क गर्ने जानकारी दिँदै यसका सम्बन्धित पीडित परिवारले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई उनको मोबाइल नम्बर ९८५१२२४४०० मा सम्पर्क गर्न पनि भनिएको छ।
चौधरी ग्रुपले घोषणा गरेको रोजगारको विषयमा सम्पर्क व्यक्ति पौडेलले सरकारले प्रमाणित गरेका शहिद परिवारका सदस्यले आफ्नो कम्पनीमा सम्पर्क गरेको खण्डमा सम्बन्धित व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउने जानकारी दिए।
गत भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण सडक प्रदर्शन एकाएक आक्रोसित र उत्तेजित हुँदै नयाँ वानेश्वरस्थित संसद भवनमा प्रवेश गर्न निषेधित क्षेत्र तोड्न पुगेपछि सुरक्षाकर्मीको कारबाहीमा १९ जनाको मृत्यु र सयौँ प्रदर्शनकारी घाइते भएका थिए।
त्यसको प्रतिकार स्वरुप भदौ २४ गते देशभरी हिंसात्मक विद्रोहमा उत्रिएका प्रदर्शनकारीले सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताहरुको निवासका अतिरिक्त कतिपय व्यापारिक समूहका कार्यालय र निवासमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
जसमा व्यापारिक प्रतिष्ठानतर्फ अत्याधिक आक्रमणको मारमा चौधरी ग्रुपको मुख्यालयदेखि कतिपय कम्पनी, शोरुमसँगै उक्त कम्पनीका संचालक विनोद चौधरीको निवासमा समेत लुटपाट, तोडफोड र आगजनी हुँदा अरबौँ रुपैयाँ बराबरको भौतिक क्षति हुन पुगेको थियो।
उक्त आन्दोलनका क्रममा अहिलेसम्म देशभरी ७५ जनाको ज्यान गइसकेको छ।