हिमाल दैनिक
भदौ २४ को वितण्डामा कांग्रेसका ३६ केन्द्रीय, ९५ स्थानीय नेताको निवासदेखि ४९ कार्यालयमा तोडफोड र आगजनी

भदौ २३ गते नवयुवा (जेनजी)हरुको शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्किएलगत्तै दोस्रो दिन देशभरी भएको हिंसात्मक आक्रमण, तोडफोड र आगजनीबाट प्रभावित केन्द्रदेखि स्थानीय तहसम्म भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। 

कांग्रेस केन्द्रीय प्रचार विभागले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार, उक्त दिनको हिंसात्मक प्रदर्शनमा आक्रमणकारीहरुले कांग्रेसको सानेपास्थित पार्टी मुख्यालयमा तोडफोड र आगजनी गर्दा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। 

यसैगरी पार्टीका केन्द्रीय पदाधिकारी तथा दुई प्रदेश सभापतिसहित ३६ केन्द्रीय तहका नेताहरुको काठमाडौं तथा निजका गृहजिल्लास्थित निवासमा तोडफोड, आगजनी र लुटपाट भएको बताइएको छ। 

अघिल्लो दिनको प्रदर्शनमा १९ जना युवा प्रदर्शनकारी सुरक्षा कारबाहीमा मारिएलगत्तै दोस्रो दिन सडकमा उत्रिएको भिडले कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवामाथि उनीहरुकै निवास बुढानिलकण्ठमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका थिए।

देउवा निवासमा जम्मा भएको भिडले घण्टौंसम्म घर खानतलासी, तोडफोड र आगजनी गरी ध्वस्त बनाइदिएका थिए भने सभापति देउवा दम्पत्तिलाई झण्डै ८ घण्टा पछाडि मात्रै नेपाली सेना र सुरक्षाकमीले उद्दार गर्दै उपचारका लागि अस्पतालमा पुर्याएका थिए।

यसैगरी उक्त दिनको घटनामा देउवाको काठमाडौंस्थित निवासका अतिरिक्त डडेल्धुरास्थित निवाससँगै श्रीमती राणाको कैलालीको धनगढीस्थित निवासमा पनि तोडफोड र आगजनी  गरिदिएका थिए।

यसका अतिरिक्त पार्टी उपसभापति पूर्णबहादुर खड्काको काठमाडौं तथा सुर्खेतस्थित निवासमा तोडफोड, लुटपाट र आगजनी गरिदिएका थिए भने महामन्त्री गगनकुमार थापाको रातोपुलस्थित निवास लुटपाट, तोडफोड र आगजनी गरिदिनुकासाथै एउटा गाडी र तीनवटा मोटरसाइकल जलाएर ध्वस्त बनाइदिएको उल्लेख छ। 

यसैगरी महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरस्थित भाडाको घर तोडफोड गर्नुकासाथै झापास्थित निवासमा तोडफोड, लुटपाट र फर्निचरमा आगजनी भएको बताइएको छ। 

यसैगरी पार्टीका सहमहामन्त्रीत्रय उमाकान्त चौधरी, महेन्द्र यादव, बद्री पाण्डेका अतिरिक्त पूर्व पदाधिकारीहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलाका निवासहरुमा पनि लुटपाट, तोडफोड र आगजनी भएको थियो।

यसैगरी नेता शेखर कोइरालाको नाममा रहेको विराटनगरस्थित कोइराला निवास, गणेशमान सिंहको चाक्सीबारी, कृष्णप्रसाद भट्टराईको बाँडेगाउस्थित आश्रम पनि आगजनीमा परेर खरानी भएको छ। 

उता पार्टी नेताहरु उमेश श्रेष्ठको चितवनस्थित निवास, विनोद चौधरीको सिजी फुड्स, सिजी इलेक्ट्रोनिक्सदेखि कतिपय शोरुमदेखि राजीव ढंगाना, अनिल रुंगटाका गृहजिल्लास्थित निवासहरुमा तोडफोड, लुटपाट र आगजनी गरी ध्वस्त पारिएको उल्लेख छ। 

यसरी पार्टी केन्द्रीय कार्यालयका अतिरिक्त कांग्रेसका ४८ जिल्ला कार्यालयपार्टी केन्द्रीय कार्यालय तथा जिल्ला र स्थानीय तहका नेताहरुको ९५ वटा निवासमा तोडफोड, लुटपाट र आगजनी भएको बताइएको छ। 

यसरी तोडफोट, लुटपाट र आगजनीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन अझै बाँकी नै रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।  

 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update