हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रभावकारी कदमका कारण कोरोना संक्रमणबाट देश र जनतालाई प्रभावित हुनबाट जोगाएको दाबी गरेकै भोलिपल्ट नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत मंगलबार दिएको जानकारी अनुसार, विगत २४ घण्टामा थपिएको नयाँ संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ। मन्त्रालयका प्रवक्ता देवकोटाले नयाँ थपिएका संक्रमित सुर्खेत, सिरहा, बारा, रौतहट, रुपन्देही, अर्घाखाँची, गुल्मी, स्याङ्जा लगायतका जिल्लाका रहेको जानकारी दिए। अहिलेसम्म देशमा ४६ जिल्लामा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए। हाल देशभर ५५ हजार दुई सय ८२ जना क्वारेन्टाइनमा छन् भन् आइसोलेसनमा पाँच सय २२ जना रहेको उनले बताए। अहिलेसम्म देशभरबाट एक सय ५५ जना डिस्चार्ज भएका देवकोटाले जानकारी दिए। मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर बिधिबाट ५४,२४२, र आडिटी ९७९६७ जनाको जाँच गरिएको छ। नेपालमा कोरोनाको कारण चार जनाको ज्यान गएको छ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update