काठमाडौंमा ७ वर्षीय बालकसहित थप ९ जनालाई कोरोना संक्रमण भेटिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा थप ९ जनालाई संक्रमण पुष्टि भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको हो। यो सँगै दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन्।
यस्तै उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।
यससँगै नेपालका २५ जिल्लामा कुल संक्रमितको संख्या २६७ पुगेको छ।
नेपालमा महिलाको तुलनामा पुरूष संक्रमित संख्या चारगुणा बढी रहेको देखिएको छ।
अहिलेसम्मको संक्रमितको तथ्यांक हेर्ने हो भने पुरुषहरूको संख्या धेरै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आजसम्म नेपालमा २६७ जना संक्रमित पुगेका छन्। तीमध्ये २१७ जना पुरुष छन् भने ५० जना मात्रै महिला छन्।
यो भनेको महिलाको तुलनामा पुरुष संक्रमितको संख्या चार गुणाभन्दा बढी हुन आउँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा पीसीआर विधिबाट २३ हजार ९१४ नमूना परीक्षण गरिएका छन्। त्यस्तै ६३ हजार ८५ आरडीटी किट परीक्षणबाट नमूना परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा भने पीसीआर विधिबाट एक हजार २५० र आरडीटी किट विधिबाट ७५८ नमूना परीक्षण भएका छन्। आजसम्म देशैभर क्वारेन्टाइनमा १५ हजार ६८३ जना छन्।
संक्रमित र सम्भावित संक्रमित गरेर देशैभर आइसोलेसनमा २६७ जना रहेको मन्त्रालयले जनाएको छ।
उपत्यका क्षेत्रमा २७ जना र बाहिर २४० जना छन्।
प्रदेश १ मा २२, प्रदेश २ मा १०२, बागमतीमा ३४, गण्डकीमा एक, प्रदेश नम्बर ५ मा १०८ जना आइसोलेसनमा छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कोही पनि आइसोलेसनमा छैनन्। मोबाइल एप र वेभपेजमा आजसम्म स्वमूल्यांक स्वास्थ्य सम्बन्धी विवरण भर्ने ३७ हजार १४७ जना छन्। तीमध्ये देशैभरका ३६३ जनालाई रेडजोनमा राखिएको छ।
निको हुने ३६
कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्कीएका छन्। योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो । २७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर गएका हुन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय