हिमाल दैनिक
बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो । गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार सङ्क्रमित सबै भारतबाट आएका हुन् । उनीहरुको यसअघि नेपालगञ्जमा भेटिएका सङ्क्रमितसँग सम्पर्क नरहेको पाइएको छ । सङ्क्रमितलाई उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भएको छ । हाल नरैनापुरमा ४४१ जना क्वारेन्टाइनमा छन् । सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । नरैनापुरमा एकै पटक आठ जनामा कोरोना पुष्टि भएकाले अझै सजगता आवश्यक देखिएको श्रेष्ठले बताए । नरैनापुर गाउँपालिकामा पछिल्लो तीन दिनमा मात्रै ४०७ जना भारतबाट भित्रिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनका अनुसार भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासीलाई गाउँपालिकाले सीमाबाट उद्धार गरेर १० क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको छ । परीक्षणमा जनशक्ति थप व्यवस्थापन कोरोना परीक्षण दायरा बढाउन कोरोना परीक्षण प्रयोगशालामा जनशक्ति थप व्यवस्थापन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तह तथा विभिन्न अस्पतालका २० स्वास्थ्यकर्मीलाई स्वाबको नमूना सङ्कलन गर्ने तालीम दिएर जनशक्ति थप गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय तहमा कार्यरत ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टलाई तालीम दिइएसँगै अब बाँकेमा स्वाब सङ्कलन गर्ने जनशक्ति बढेको छ । जनशक्ति बढेसँगै अब शङ्कास्पद घटनाका आधारमा नमूना सङ्कलनको दायरा बढाइने छ । भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले स्वाब सङ्कलन गर्ने जनशक्ति थपिएसँगै अब समुदायस्तरमा परीक्षणले थप गति लिने बताए । कोरोना परीक्षणको नतिजामा कुनै शङ्का नगरी सहभागी हुनसमेत उनले शङ्कास्पद सबै नागरिकमा आग्रह गरे । भेरी अस्पतालमा बिहीबार दिउँसोसम्म एक हजार ११८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएकामा एक हजार १०८ को परीक्षण सम्पन्न भएको छ । एक हजार ८४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आउँदा २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update