हिमाल दैनिक
सरकारले कोरोना भाइरस संक्रमणबाट देश र जनतालाई सुरक्षित राख्न अपनाएको लकडाउनको अवधि थप १० दिन लम्बिएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको आदेश तेस्रो पटक थप गर्दै वैशाख २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको मन्त्रिपरिषद जानकारी बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले दिए। मन्त्री खतिवडाका अनुसार, अन्तराष्ट्रिय सीमा नाका भने वैशाख ३१ गते मध्यरातसम्म बन्द राखिने भएको छ। यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित उच्चस्तरिय समितिले शनिबार लकडाउन लम्ब्याउने निर्णय गर्न नसकेर मन्त्रिपरिषदलाई जिम्मा दिएको थियो। देशका विभिन्न भागमा देखिएको संक्रमितहरुको संख्या र त्यसबाट हुन सक्ने सम्भावित खतरालाई न्यूनिकण गर्न मन्त्रिपरिषदले लकडाउनको अवधि लम्ब्याएको हो। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारीको त्रासबाट देश र जनतालाई सुरक्षित राख्न सरकारले चैत ११ गतेदेखि देशभरी लकडाउन आदेश जारी गरी सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न आग्रह गर्दै आएको छ। यसअघि कतिपयले लकडाउनको अवधिसँगै त्यसमा अपनाइएको लकडाउन आदेशमा केही खुकुलो पना अपनाउन सक्ने आँकलन गरिएपनि उदयपुर, झापा, पर्सा लगायतका जिल्लामा देखिएको संक्रमितको संख्या बढेसँगै लकडाउनको नितिमा कुनै फेरबदल नगरिएको हो। अहिलेसम्म नेपालमा ५२ जना संक्रमितहरु भेटिएका छन् जसमध्ये १६ जना उपचारपछि घर फर्किएका छन्। यसरी घर फर्किनेमा उपत्यकाको सन सिटी कोलोनीमा भेटिएकी ८१ वर्षीया महिला समेत ११ दिनको अस्पताल बसाईपछि निको भएर घर फर्किनेको सूचिमा रहेकी छिन्। त्यसका बाबजूद पनि अहिले पनि देशका विभिन्न शहरबाट मानिसहरु हिडेर गाउँ फर्कने क्रम जारी नै छ। यसका अतिरिक्त सरकारले इपिएस अन्र्तगत दक्षिण कोरियामा रोजगारीका लागि जान दिने निर्णय पनि गरेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update