
‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् ।
साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका प्रहरी उपरिक्षक बिश्वराज पोख्रेलले बतायो । सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ । बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका पोखरेलले बताए ।
सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन् । “हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भन्नुभयो । सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ ।
उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । लकडाउनमा दैनिक दुई हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उनले यो अवधिमा उल्लङ्घन गर्ने ७३ हजार बढीलाई कारवाही गरिएको बताए । लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ ।
स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन् । यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय