राहुल चौधरीको पहलमा माल्दिभ्सका ९३ विद्यार्थीलाई स्वदेश पठाइयो
कोरोना संक्रमणको जोखिमका कारण सरकारले अनिश्चितकालीन लकडाउन शुरु गरेपछि नेपालमा रोकिएका माल्दिभ्सका १८ विद्यार्थीलाई नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत राहुल चौधरीको पहलमा विमान चार्टर गरी स्वदेश पठाइएको छ ।
नेपालमा चिकित्सा अध्ययन गर्ने करिब सय माल्दिभियन विद्यार्थी छन् । तीमध्ये ७५ जनालाई लकडाउन शुरु हुनुअघि नै राहुलले परराष्ट्र, नागरिक उड्डयनलगायत मन्त्रालयसँग समन्वय गरी कतार एयरवेजको विमानबाट माल्दिभ्स पठाएका थिए । कतिपय विद्यार्थी काठमाडौंबाहिरका जिल्लामा अध्ययनरत रहेकाले समयमै आइनसकेका कारण लकडाउनको मारमा परेका थिए । एक महिनादेखि उनीहरूले स्वदेश फर्काइदिन आग्रह गरिरहेका थिए ।
राहुलले सम्बन्धित मन्त्रालय, नेपाल वायुसेवा निगमसँगै माल्दिभ्सको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ती १८ विद्यार्थीलाई निगमको चार्टर्ड विमानबाट माल्दिभ्स पठाइदिएका हुन् । निगमको त्यो विमानले विद्यार्थीहरूलाई सबैभन्दा नजिकको मुकाम ढाका ९बंगलादेश० पुऱ्याएको थियो । ढाकामा रहेका अन्य ५५ विद्यार्थीलाई पनि साथमा लिएर माल्दिभ्सको सैन्य विमानले उनीहरूलाई गन्तव्यमा पुऱ्याएको हो ।
राहुल ६ महिनादेखि नेपालका लागि माल्दिभ्सका अवैतनिक महावाणिज्यदूत छन् । यसअघि यो जिम्मेवारी निर्वाण चौधरीले निभाइरहेका थिए ।
चौधरी फाउन्डेसनकालागि कोरोना परीक्षणका लागि चिनबाट ‘पीसीआर रिएजेन्ट’ ल्याउन पनि राहुलले संयोजन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्


