
प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लकडाउनको समयमा घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्।
उणले आज बिहान सामाजिक सञ्जालमार्फत लकडाउनका समयमा हिँडडुल गर्दा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन्। “घरजान भनेर प्रदेश नं. ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला, त्यहाँ खाने बस्ने व्यवस्था छ”, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।
लकडाउनका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिकहरु पैदल हिँडेर आ–आफ्नो घरतर्फ जानेक्रम नरोकिएपछि उनले यस्तो अनुरोध गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण निर्माण क्षेत्रका मजदूरहरु समस्यामा परेका छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदल आ–आफ्नो घरतर्फ लागेका छन् । काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा, प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन् ।
गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय