सनसिटी अपार्टमेन्टका ३ जनामा संक्रमणको आशंका, सबैलाई पाटन पुर्याइयो, अपार्टमेन्ट सुरक्षा नियन्त्रणमा
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमण लागेको आशंकामा राजधानीको पेप्सीकोलास्थित सनसिटी एपार्टमेन्टबाट तीन जनालाई अस्पताल भर्ना गरिएको छ।
विदेशबाट फर्किएका नागरिक र उनीहरुको सामिप्यतामा पुगेका केही व्यक्तिसहित १४ जना व्यक्तिमा संक्रमण लागेको पुष्टि भएको अवस्थामा राजधानीमा पनि संक्रमित भएको आशंका बढेपछि उपत्यकाकावासीमा थप त्रास फैलिएको छ।
सोमबार एकाएक सनसिटीको १५औं तलामा बस्ने एकै परिवारका तीन जनाको र्यापिड टेष्टमा कोरोना भाइरस परिक्षणको पोजेटिभ रेकर्ड देखिएपछि उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको प्रहरी प्रशासन स्रोतले बताएको छ।
आमा, छोरा र बुहारी तीनै जना चैतको पहिलो साता बेलायतबाट फर्किएपछि उक्त अपार्टमेन्टमा बस्दै आएको अपार्टमेन्टका एक बासिन्दाले बताए।
र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशन वार्डमा राखिनुका साथै उनीहरुको पीसिआर परिक्षणका लागि पठाइएको छ। उक्त परिक्षणको नतिजा आएपछि उनीहरुमा कोरोना भाइरस लागेको वा नलागेको पुष्टि हुने अस्पताल स्रोतले बताएको छ।
उनीहरु बस्दै आएको अपार्टमेन्टलाई अहिले प्रहरीले लकडाउन गरी भित्र रहेकालाई बाहिर निस्कन दिइएको छैन।
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय