
काठमाडौं महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा रहेका पशुपन्छीलाई खाना खुवाउने अभियान सञ्चालन गरेको छ । लकडाउनका बेला पशुपन्छी भोकै नरहुन भन्दै महानगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।
शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलले पशुपतिनाथ, स्वयम्भू र बौद्धमा रहेका कुकुर, बाँदर, परेवालाई खाने कुरा दिएका हुन् । कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश विगत १८ दिनदेखि लकडाउनमा रहेको छ । यस्तो समयमा ती क्षेत्रहरुमा मानिसको आवतजावत नहुँदा पशुपंछीहरु पनि भोकै रहने हुँदा महानगरपालिकाले खाना खुवाएको हो ।
पशुपति क्षेत्र बिकास कोषका सदस्यसचिव प्रदीप ढकालले हरेक दिन बिहान र बेलुका खाना खुवाउने गरिउको भएपछि अहिले खाना खुवाउने कार्यलाई बढाइएको बताए । उनले शनिबार काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियान चलाएको पनि बताए ।
त्यस्तै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनको अवधिभर पशुपन्छीहरु रहेका क्षेत्रहरुमा खाना खुवाइने जानकारी दिए । काठमाडौंको बिभिन्न वडाहरुमा पनि राहत बितरणको कामका बारेमा समेत जानकारी लिइएको उनले बताए ।
उनले आगामी दिनमा खाना खुवाउने अभियानलाइ तिव्रता दिने पनि जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय