हिमाल दैनिक
क्वारेन्टाइनमा बसेकाको स्वाब सङ्कलन शुरु भएकोे छ । हेलकप्टरमार्फत स्वास्थ्यकर्मी र औषधि आएपछि सो कार्य शुरु गरिएको हो । भारतलगायत विभिन्न देशबाट आएका नागरिकको स्वाब सङ्कलन गरेर परीक्षण गर्न जिल्लाका ६ ठाउँबाट स्वाब सङ्कलन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । ६ ठाउँबाट ५०० भन्दा बढी व्यक्तिको स्वाब सङ्कलन गरिँदैछ । नौ वटै स्थानीय तहमा भारतलगायतबाट आएका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिनेछ । स्वाब सङ्कलन अपिहिमाल र मार्मा गाउँपालिकाको लटिनाथ, नौगाड गाउँपालिकाको दल्लेख, दुहुँ गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्याब सङ्कलन गरिँदैछ । यस्तै, मालिकार्जुन, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर तथा महाकाली नगरपालिकाको खलङ्गामा स्याब सङ्कलन शुरु गरिएको उनले बताए । शनिबार शैल्यशिखरको गोकुलेश्वर र महाकाली नगरपालिकाको खलङ्गामा नेपाली सेनाको हेलिकप्टरमार्फत र मार्माको लटिनाथ, नौगाडको दल्लेख, दुहुँुको हिकिला र हुतीका लागि कैलाश एयरको एमटी हेलिकप्टर मार्फत स्वास्थ्यकर्मी र औषधि आएको हो। सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्वाब परीक्षण गर्न लगाएका छौँ, प्रजिल पौडेलले भने, अन्य जिल्लामा २÷३ सय व्यक्तिको मात्रै परीक्षण गर्दैछ । सबै स्थानमा अहिले स्वाब सङ्कलन भइरहेको जनाइएको छ । यो क्षेत्रमा महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतलगायतका ठाउँबाट जिल्लामा एक हजार ४०७ जना भित्रिएको तथ्याङ्क छ । तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएका छैन । जिल्लामा शुक्रबारसम्म २८० जना क्वारेन्टाइनमा बसेका छन् । आज सबै क्षेत्रको स्वाब सङ्कलन भइसक्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update