भक्तपुरमा हरेक वर्ष हुँदै आएको बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा यस वर्ष नहुने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिए । हरेक बर्ष चैत्र २७ गते रथको पहिलो दिन रथ तान्ने गरिन्थ्यो । तर यस बर्ष भने रथ बनाउदै गर्दा कोरोनाको त्रासका कारण लकडाउन भएपछि रथ बनाउदै गर्दा स्थगित गरिएको थियो ।
बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । तौमढीस्थित पाँचतले मन्दिर परिसरबाट भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा यक्ष मल्लको पालादेखि चलेको बताइन्छ ।
यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ । जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय