हिमाल दैनिक
सीमापारी पुगेर फर्केका सांसद यादवलाई क्वारेन्टिनमा बस्न पर्सा जिल्ला प्रशासनको आदेश,
pradip-yadav
सरकारी निर्णय र आदेशका उलंघन गर्दै नेपाल–भारत सीमा नाकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिहरुलाई भेटेको आरोपमा पर्सा जिल्ला प्रशासनले पर्साका प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई क्वारेन्टिनमा बस्न दबाब दिएको छ। पर्साको वीरगञ्ज नजिकै सीमा पारी रहेका नेपालीहरुलाई बुधबार भेटेर फर्किएका सांसद यादवले सरकारले जारी गरेको लकडाउनको उलंघन तथा बन्द सीमा नाका पारी गएर क्वारेन्टिनमा रहेका व्यक्तिहरु भेटेको आरोप लागेपछि उनलाई पर्सा जिल्ला प्रशासन प्रमुखले बिहिबार एकान्तबासमा बस्न आदेश दिएका हुन्। जिल्ला प्रशासन कार्यालयबाट आदेश आएपछि पर्सास्थित आफ्नै घरमा बसिरहेका समाजवादी पार्टी नेपालका सांसद यादवले हिमाल दैनिकसँग कुरा गर्दै आफू बुधबार सीमा नाकास्थित क्वारेन्टिनमा रहेका १४ जना नेपालीहरुलाई राहत सामाग्रीसहित गएर भेटेको बताए। ‘मेरो निर्वाचन क्षेत्रसँगै जोडिएको सीमा नाकामा रहेका नेपाली दाजुभाईको पीडाबारे सुनेपछि हिँजै मैले पर्साका प्रमुख जिल्ला अधिकारी र भारतीय सीमा क्षेत्रका सरकारी अधिकारीलाई जानकारी दिएर गएको हुँ,’ सांसद यादवले भने। रुकुम घर बताउने १४ जना नेपालीहरुको दयनीय अवस्थाबारे थाहा पाएपछि आफूले उनीहरुलाई केही राहत सामाग्रीसहित गएर भेटेको र उनीहरुसँगको भेटका क्रममा सरकार र विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्ड बमोजिम नै दुरी कायम गरी भेटवार्ता गरेको दाबी उनले गरे। मधेसी राजनीतिककर्मीले पहाडी समुदायको पीडा बुझ्दैनन भन्ने आरोप लागिरहेकै बेला आफूले एक बच्चासहित १४ जना रुकुमका नेपाली नागरिकलाई भेटेको विषयमा राजनीतिक प्रतिशोधका कारण आफूलाई क्वारेन्टिनमा बसाउन जिल्ला प्रशासनमा दाबा दिइएको आरोप उनले लगाए। जिल्ला प्रशासन कार्यालयबाट आएको आदेश बमोजिम आफू १४ दिन एकान्तबासमा रहने वा के गर्ने भन्नेबारे साँझ मात्रै जानकारी दिने पनि सांसद यादवले बताए।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update