हिमाल दैनिक
कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश नदिएपछि कैलालीको गौरीफन्टा नाकामा दिनभर तनाव भएको छ। भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरु कोरोना संक्रमणको महामारी पश्चात भारतभर नै जनता कर्फ्यु र लकडाउन गरी जनजीवन प्रभावित हुनुका साथै संक्रमणको जोखिम बढेपछि उनीहरु घर फर्किएका थिए। यसरी फर्किने क्रममा करिब ६ सयको संख्यामा नेपालीहरु गौरीफन्टा सीमा नाकामा आइपुगे पनि सरकारले सीमानाका बन्द गरेको र देशभरी नै लकडाउन गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाएको थियो। भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। घण्टौँसम्म सीमा खुल्ने आशामा बसेको भीडले आक्रोशित हुँदै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन्। त्यसको प्रतिउत्तरमा प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ। निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई अहिलेसम्म पनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरिरहेका छन्। सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो। सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन। यसका बाबजूद पनि नेपालीहरु सीमा नाकामा आएर थुप्रिएपछि उनीहरुलाई स्वास्थ्य परिक्षण गरी प्रवेश दिएर उनीहरुको गन्तव्यमा जान दिने वा आइसोलेशन सेन्टरमा राख्ने भन्नेबारे स्थानीय प्रशासनले अहिले आन्तरिक छलफल गरिरहेको छ। सीमा नाकामा रहेका नेपालीलाई आज एकदिनमात्रै नेपाल प्रवेश गर्न दिने निर्णय सरकारले गरेको छ। उनीहरुलाई आज प्रदेश सरकारसँग समन्वय गरी स्वास्थ्य चेकजाँच गरी प्रवेश दिएपनि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने बताइएको छ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update