प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोभिड–१९ को सङ्क्रमणको आशङ्का गरीएका नागरीकको पहिचानमा जुट्न सबै स्थानीयतहलाई आज यहाँ निर्देशन दिएका छन् ।
कोरोना भाइसरको रोकथाम तथा प्रतीरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समितिको आज बसेको बैठकमा उनले कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका व्यक्तिको पहिचान गरी क्वारेण्टाइन बसाउन वा उपचारका लागि आइसोलेसन पठाउनु पर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री राईले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क सङकलन अविलम्व गर्न आग्रह गरे । प्रदेश कोरोना रोकथाम, प्रतीरक्षा र उपचार निर्देशन समितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीयतहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै सुत्केरी र गर्भवती, अपाङ्गता भएका र दैनिक ज्यालादारीमा काम गर्नेप्रति विशेष ध्यान दिई विवरण सङ्कलन गर्न आग्रह गरे ।
उनले विपन्न र दैनिक ज्यालादारी गर्नेलाई स्थानीय तहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउनेसमेत जानकारी दिए । बैठकले कोरोना भाइरसको विरुद्ध लड्न स्थानीय पालिकाको नेतृत्वमा स्थानीयतहमा विभिन्न समिति निमार्ण गर्ने, प्रदेशका सबै स्थानीय तहको तथ्याङ्क सङ्कलन गर्ने, राहत वितरणको कामलाई एकद्वार प्रणालीबाट वितरण गर्ने, स्थानीयतहले तथ्याङ्क दैनिक मुख्यमन्त्री कार्यालयमा पठाउने, स्थानीय पालिकासँग नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समितिले समन्वय गर्नेलगायतका निर्णय गरीएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोको संयोजकत्वमा ‘लकडाउन’को अवधिमा कृत्रिम अभाव हुन नदिन र नागरीकलाई पर्ने समस्याका विषयमा अनुगमन गर्न १० सदस्यीय अनुगमन समिति गठन गरीएको छ । समितिको सदस्यमा राज्यमन्त्री, विपक्षी दलका नेता, समाजवादी पार्टी, लिम्बुवान पार्टी र राप्रपाका नेता, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख न्यायाधिवक्ता र मुख्यमन्त्रीका आर्थिक सल्लाहाकार रहेका छन् ।
कोरोनासम्बन्धी तत्काल नागरीकलाई राहत, उद्धार गर्नुपर्ने वा उजुरी, गुनासो र सुझाव भए प्रदेश सरकारले स्थापना गरेको कोरोेना सूचना डेस्क वा मोबाइल एप्लिकेशनमार्फत जानकारी दिनसमेत बैठकले सबैमा अपिल गरेको छ ।
पाँच सय असाहय र विपन्नलाई खाना वितरण
लकडाउनका कारण श्रम गर्नबाट वञ्चित, विपन्न तथा असहायलाई आज विराटनगरमा खाना वितरण कार्यको शुरु गरीएको छ । विराटनगर महानगरपालिका र श्याम परिवारले संयुक्तरुपमा रोजगारविहीन श्रमिक, असहाय अशक्त, सडकमा बसेर माग्ने र अतिविपन्न ५०० लाई खाना खुुवाइएको महानगरका प्रमुुख भीम पराजुुलीले जानकारी दिए ।
लकडाउनको अवधिभर उनीहरुलाई खाना खुुवाउने व्यवस्था मिलाइएको छ । विराटनगरको शनिहाट, तीनपैनी, कञ्चनबारी, बसपार्क, बरगाछी, अस्पताल चोक तथा विराटनगर–जोगवनी नाकामा रहेका विपन्न तथा असक्तहरुलाई खानाको व्यवस्था गरीएको श्याम परिवारका अध्यक्ष प्रभुुदयाल तोदीले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय