विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरसको संक्रियमतको संख्या विगत २४ घण्टाभित्रै ५० हजारको हाराहारीमा वृद्धि हुँदा विश्वभर दुई हजार भन्दा बढी मानिसको ज्यान गएको छ।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, साढे दुई महिनाअघि चीनको वुहानबाट सुरु भएर महामारीका रुपमा फैलिएको चीनको संक्रमित संख्यालाई अमेरिकाले उछिनेको छ।
चीनले यसअवधिमा संक्रमितको संख्या नियन्त्रण गर्दै अहिलेसम्म ८१ हजार ३ सय ४० मा सिमित गरिरहेकै बेला अमेरिकामा भने २४ घण्टाभित्रै १७ हजारभन्दा बढी नयाँ संक्रमितको संख्या बढ्दा विश्वकै सबैभन्दा बढी संक्रमितहरु भएको राष्ट्र बन्न पुगेको छ।
अमेरिकामा संक्रमितको संख्या ८५ हजार ३ सय ४४ पुगेको छ भने, १२ सय ९५ जनाको ज्यान गइसकेको छ।
संक्रमितको संख्याको हिसाबले तेस्रो स्थानमा रहेको युरोपीयन राष्ट्र इटालीमा ८० हजार ५ सय ८९ संक्रमित भएपनि मृत्यु हुनेको संख्या भने सबैभन्दा बढी अर्थात ८ हजार २ सय १५ पुगेको छ।
चीनमा मृत्यु भएका संक्रमितको संख्या ३२ सय ९२ लाई उछिनेर स्पेनमा ४३ सय ५६ जनाको मृत्यु भइसकेको छ भने स्पेनमा अहिलेसम्म ५७ हजार ७ सय ८६ संक्रमित हुन पुगेका छन्।
संक्रमणको हिसाबले जर्मनीमा ४३ हजार ९ सय ज्यादा संक्रमित भएपनि मृत्यु हुनेको संख्याका हिसाबले इरानमा २२ सय ३४ जनाको ज्यान गएको छ भने फ्रान्समा १६ सय ९६ व्यक्तिको ज्यान गएको बताइएको छ।
विश्वभर संक्रमितको संख्या ५ लाख ३१ हजार ७ सय ६४ पुगेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ७१ पुगेको छ।
कोरोना संक्रमणका विरामीहरुमध्ये अहिलेसम्म विश्वभर १ लाख २३ हजार ९ सय ४२ जना उपचारपछि निको भएर घर गएको पनि तथ्यांकमा उल्लेख छ।
भारतमा संक्रमितको संख्या ७ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या पनि २० पुगेको छ। नेपालमा भने संक्रमितको संख्या ३ जनामा देखिएपनि यसमध्ये एकजनाले पूर्ण रुपले स्वस्थ भइ घर गइसकेका छन् भने दुई जना संक्रमितको उपचार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय