सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पार्टी र संसदीय दलको तर्फबाट झण्डै ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध सरकारले हालै स्थापना गरेको कोषमा कांग्रेसले पनि ऐक्यवद्धता व्यक्त गर्दै पार्टीको तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ठ जम्मा गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी संघीय संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको कांग्रेस संसदीय दलले पनि सरकारद्वारा स्थापना गरिएको कोषमा आफ्ना सांसदहरुको तर्फबाट १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निणैय गरेको छ।
सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा कांग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले जानकारी दिए।
कांग्रेसका संघीय संसदमा प्रतिनिधि सभामा ६३ जना र राष्ट्रिय सभामा ६ जना गरी ६९ सदस्य रहेका छन्।
यसैगरी कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमण फैलिन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि जारी गरेको लकडाउन गर्ने निर्णयलाई सकारात्मक भएको बताउँदै सबैले यसको पालना गर्न पनि आग्रह गरेको छ।
लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै कांग्रेसले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय