
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध देश र जनतालाई बचाउन सरकारले सुरु गरेको ‘लकडाउन’को पहिले दिन सिंगो देश नै ठप्प भएको छ।
चीनको वुहानबाट सुरु भएर युरोप र अमेरिका लगायतका मुलुकमा नियन्त्रण बाहिर गएको अवस्थामा सरकारले आज बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभरी लकडाउनको घोषणा गर्दै उक्त अवधिमा अत्यावश्यक सेवामा संलग्न व्यक्ति र संस्थाबाहेक सर्वसाधारण जनतालाई घर बाहिर ननिस्कन आग्रह गरेको थियो।
हिजैमात्र फ्रान्सबाट चैत ४ गते नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट भएको पुष्टि भएपछि सरकारले यसबाट बचाउन साँझ बैठक बसेर लकडाउनको घोषणा गरेको थियो।
सर्वसाधारण र विशेषज्ञहरुको अपेक्षाभन्दा केही ढिलागरी सरकारले लिएको निर्णयमा सिंगो देशले नै ऐक्यवद्धता व्यक्त गर्दै मंगलबार बिहानैदेखि घरभित्रै बसेर लकडाउन सफल बनाएका छन्।
बिहानैदेखि उपत्यकाका सडकहरु सुरक्षाकर्मी र अत्यावश्यक सेवाका सवारी साधानबाहेक कुनै पनि सार्वजनिक र नीजि सवारी साधन चलेका छैनन्। सडक र बजार पूर्ण रुपले सुनसान रहेको छ।
शहरकाभित्री सडक र पसलहरुमा पनि सुरक्षाकर्मीले संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारको आग्रह बमोजिम पसल खुला नराख्न र अत्यावश्यक दैनिक उपभोग्य सामाग्री खरिद गर्दा पनि किराना पसल, दूध पसल लगायतका पसलमा भिड नगर्न आग्रह गरिरहेको छ।
यसैगरी देशका अन्य प्रमुख शहरहरु पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढी लगायतका शहरदेखि विभिन्न जिल्ला सदरमुकामहरुमा पनि लकडाउनको पूर्ण रुपमा पालना भएको समाचारहरु प्राप्त भएका छन्।
चीनको वुहानबाट सुरु भएर युरोप र अमेरिकालाई गाँज्न पुगेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १६ हजार ५ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
कोरोना कहरको मारमा सबैभन्दा बढी इटाली परेको छ। जहाँ अहिलेसम्म ६ हजार ७७ व्यक्तिको मृत्यु भएको छ भने झण्डै ६४ हजारको हाराहारीमा संक्रमित भएकोमा ३२ थप नागरिक गम्भिर अवस्थामा रहेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले बताएका छन्।
चीनमा भने ८१ हजार भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको भएपनि अहिलेसम्म ३२ सय व्यक्तिको ज्यान गएको छ।
कोरोनाबाट ज्यान जानेको संख्याका हिसाबले स्पेन तेस्रो देश रहेको छ। जहाँ अहिलेसम्म ३५ हजारमा संक्रमण देखिएको र त्यीमध्ये २३ सय ११ व्यक्तिको ज्यान गएको छ।
यसैगरी इरानामा १८ सय भन्दा बढीको ज्यान गएको छ भने अमेरिकामा ४६ हजार भन्दा बढी संक्रमितमध्ये ५ सय ८२ को ज्यान गएको छ।
भारतमा पनि ५ सयको हाराहारीमा संक्रमित भएपनि अहिलेसम्म १० जनाको मृत्यु भएको छ। भारतले कोरोनाविरुद्ध लड्न भारतले देशभरी नै लकडाउन र कर्यm्यु आदेश जारी गरेको छ।
अहिलेसम्म कोरोनाबाट ३ लाख ६१ हजार ५ सय भन्दाबढी मानिसमा यसको संक्रमण देखिएको छ जसमध्ये अहिलेसम्म १ लाख २ हजार ४ सय २९ जना उपचारपछि स्वस्थ भएका छन्।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय