नेपाल तरुण दलले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे १२ बुँदे विज्ञप्ति जारी गर्दै यसबाट आम नेपालीलाई जोगिन र जोगाउन अपिल गरेको छ।
दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार एक विज्ञप्तिमार्फत संक्रमणको चपेटाबाट जोगिन र जोगाउन अति आवश्यक कार्यबाहेक अन्य कामका लागि घरबाट ननिस्किन र घरमै बसी केही समयका लागि सामाजिक दुरी कायम गर्न सर्वसाधारण जनतालाई अपिल गरेका छन
यसैगरी दलले विभिन्न कामको सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकहरुलाई जो जहाँ छ त्यहि केही समयका लागि सुरक्षित तबरले बस्न पनि अपिल गरेको छ।
कोरोना भाइरसको विषयमा सामाजिक संजाल तथा अनलाइनहरुमा सत्य तथ्यपूर्ण समाचारमात्रै प्रकाशित गरी जनतामाझ भ्रमपूर्ण हल्ला नफिजाइदिन पनि आग्रह गरेका छन्।
यसरी सामाजिक संजाल लगायत अन्य माध्यमबाट अनावश्यक हल्ला फैलाउनाले समाजमा त्रासको वातावरण बढेो भन्दै त्यस्ता गतिविधिहरु नियन्त्रणका लागि पनि सरकारसँग तरुण दलले माग गरेको छ।
साथै तरुण दलले पछिल्लो समय कोरोना त्रासका कारण पर्यटकको संख्यामा भएको ह्रासले बन्द हुने अवस्थामा रहेका ठूला तारे होटलहरुका संचालकहरुसँग सल्लाह गरी त्यस्ता सुविधा सम्पन्न होटललाई आइसोलेसनका लागि उपयोग गर्ने वातावरण मिलाउन पनि सरकारलाई सुझाव दिएको छ।
यसका अतिरिक्त हालको अवस्थामा धर्मशाला, पार्टी प्यालेस, साना र मझौला होटलहरु, तालिम केन्द्र र पायक पर्ने अन्य स्थललाई क्वारेन्टाइन र आइसोलेसन स्थलको रुपमा प्रयोगको लागि सम्बन्धित निकायसंग सर सल्लाह गरी आवश्यक कार्य तत्काल अघि बढाउन पनि सुझाएको छ।
बजारमा देखिएको मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरुमाथि कडा कारवाही गर्न तथा जनताका न्युनतम सेवा सुविधाका वस्तुको उपलब्धतामा सहजता ल्याउन पनि माग गरिएको छ।
तरुण दलले केही समयका लागि अति आवश्यक बाहेक अन्य कार्यहरु बन्द गर्नुपर्ने अवस्था आएकाले दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने वर्गमाथि परेको मारलाई ध्यानमा राखी त्यस्तो वर्गको दैनिक जीवन निर्वाहको लागि सरकारका तर्फबाट आवश्यक प्रबन्ध गर्न पनि माग गरेको छ।
निजि क्षेत्रबाट हवाईसेवा प्रदान गर्ने केही कम्पनीहरुले तोकिएको भन्दा अत्याधिक भाडा असुलेको देखिनमा आएकोले सो कार्य तत्काल रोक्न नेपाल तरुण दल ध्यानाकर्षण गराएको छ।
सकेसम्म लामो दुरीको यात्रा नर्गन र यदि गर्नैपर्ने अवस्था आएमा यसका लागि सरकारका तर्फबाट सुरक्षित र सुलभ यातायातको प्रबन्ध गराउन पनि तरुण दलले माग गरेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय