हिमाल दैनिक
फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी एक युवतीमा कोरोना भाइरसको संक्रमणको पोजेटिभ लक्षण देखिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मलेनमार्फत फ्रान्सबाट केही दिनअघि नेपाल आइपुगेकी युवतीमा कोरोना संक्रमण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि राखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए। विदेशबाट चैत ४ गते स्वदेश आएकी युवती आफ्नो घरमै आइसोलेसनमा बसेपनि ज्वरो आएर कोरोनाको लक्षण देखिएपछि उनी परिक्षणका लागि गएकी थिइन भने उनको परिवारलाई पनि होम क्वारेन्टाइनमा राखिनुका साथै उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा पनि जानकारी लिने क्रम जारी छ। उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। यसअघि नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपनि उपचार पश्चात उनी घर फर्किएका थिए। यो सँगै नेपालमा कोरोना संक्रमण लागेका व्यक्तिको संख्या दुई पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update