
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको विषयमा नेपाल मेडिकल एशाेसिएसनका पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेका छन्।
बुधबार आफ्नै निवासमा मेडिकल एशाेसिएसनका नवनिर्वाचित पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग चीनको वुहानबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाल र नेपालीहरुलाई के कसरी बचाउँन सकिन्छ र त्यसमा पार्टीले के कस्तो र कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, उक्त छलफलका क्रममा चिकित्सकहरुको टोलीले सरकार र सरकारी निकायले कोरोना भाइरसको महामारी सुरु हुने समयमा जुन किसिमको तयारी गरेको थियो त्यो भन्दा अहिलेसम्म खासै कुनै नयाँ तयारी नगरेको भनि चिन्ता र चासो व्यक्त गरेका थिए।
साथै चिकित्सकहरुले यो संक्रमण नेपालमा फैलिएमा अस्पतालबाट साधारण विरामी र कोरोनाका विरामीलाई अलग राखेर उपचार गर्ने भन्ने विषयमा सावधानीपूर्वक तयारी गर्ने भन्दा पनि सरकारी निकायका समय बैठक र छलफलसँगै अलमलमै वितेको गुनासो गरेका थिए।
उनीहरुले राज्यका तर्फबाट कोरोना भाइरसको प्रकोप भित्रिएको अवस्थामा चिकित्सकले समेत आफ्नो व्यक्तिगत सुरक्षाको लागि अत्यावश्यक औजारहरुको व्यवस्था समेत गर्न नसकेको भनि गुनासो गरेका थिए।
सभापति देउवाले केही दिन अघि पार्टीको तर्फबाट कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारको ध्यानाकर्षण गर्दै जारी गरेको विज्ञप्तिमा रोकथामको अतिरिक्त यसबाट मुलुकमा पर्न सक्ने आर्थिक प्रभाव, निजि क्षेत्रका उद्योगधन्दा, कलकारखानाको अवस्था र बैंक तथा वित्तिय संस्थाले लगानी कर्ताको सुरक्षाका लागि व्याज तथा ऋण मिनाह लगायतका विषयमा गरेको ध्यानाकर्षणको प्रसंशा गर्दै अबको प्राथमिकता भनेको मानिसको ज्यान जोगाउनेमा केन्द्रीत हुनु पर्ने सुझाव दिएका थिए।
यसका लागि पार्टी पदाधिकारीहरुसँग पनि चिकित्सकहरुले अपरान्ह पार्टी मुख्यालय सानेपामा छलफल गरेका थिए। चिकित्सकहरुको परामर्श पश्चात सभापति देउवाले देशभरीका पार्टी जिल्ला कार्यसमिति, विभिन्न भातृ संस्था र शुभेच्छुक संस्थाका सदस्यहरुलाई गाउँ, गाउँ र वडातहमा कोरोना भाइरसबाट बच्न र बचाउन व्यापक रुपमा जनचेतना अभियान संचालनका लागि तत्काल अपिलसँगै निर्देशन दिने तयारी पनि गरेका छन्।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय