हिमाल दैनिक
विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोबिड-१९)ले अहिले युरोपमा नयाँ केन्द्र बनाएको छ। चीनको वुहान शहरबाट सुरु भएको कोबिड-१९ले अहिले बिश्वलाई नै आफ्नो चपेटामा लिएको छ। चीनपछि बिश्वमा सबैभन्दा बढी क्षति यसले इटालीमा पुराएको छ। इटालीमा पछिल्लो २४ घन्टामा मात्र कोरोनको सङ्क्रमणबाट ३६८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संचार माध्यमका अनुसार, इटालीमा अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९ पुगेको छ। कोरोनबाट वुहानमा अहिलेसम्म सबैभन्दा बढि मानिसको ज्यान गएको थियो। हरेक दिन १५० -२०० जना मानिस उक्त संक्रमणको शिकार बन्दै गएका थिए। वुहानमा मात्र ३ हजार दुई सय जना यसै संक्रमणका कारण ज्यान गुमाएका छन्। वुहानबाट सुरु भएको कोबिड-१९को प्रकोप त्यहाँ कम हुदै गरेको छ भने पछिल्लो समय इटालीमा यसको प्रभाव बढेको छ । इटलीको लोम्बार्डी शहर बिस्तारै नयाँ वुहानमा परिणत हुदै गएको समाचार एजेन्सीहरूले जनाएका छन्। इटालीको आर्थिक राजधानीको रुपमा रहेको लोम्बार्डीमा अहिलेसम्म एक हजार दुई सय १८ जनाको ज्यान गएको छ। आइतबारमात्र इटालीमा तीन सय ३८ मानिसको मृत्यु भएको छ। लोम्बार्डीका रिजनल गर्वनर एटिलियो फोंटानाका अनुसार आइसीयुमा अब नयाँ बिरामीलाई राख्ने कुनै ठाउँ बाँकी छैन। फोंटानाले डाक्टरमा पनि संक्रमण देखिँदै गएको बताएका छन्। स्रोत अभावका कारण अब संक्रमण हुने ब्यक्तिलाई  उद्धार गर्न समेत कठिनाई हुने उनी बताउँछन्। फोंटानाका अनुसार एक करोडको जना सङ्ख्या भएको लोम्बार्डीमा शहरमा १३ हजार भन्दा बढि मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने सात सय ६७ जनाको अवस्था नाजुक रहेको छ। उक्त तथ्याङ्क अनुसार कोरोनाबाट ज्यान गुमाउने चीनपछि इटालीमा बढि देखिएको हो । इटली सिविल प्रोटेक्शन सर्भिसले इटालीमा एक हजार आठ सय ९ जनाको ज्यान गएको र कुल २४ हजार सात सय ४७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ। मृत्यु हुने ६७ प्रतिशत लोम्बार्डी र मिलनबाट रहेका छन्। मोलिस र बेसिलिकाटा प्रान्त बाहेक हरेक प्रान्तमा दिनहुँ १-२ जना यसको शिकार बनेका छन्। इटली सिविल प्रोटेक्शन सर्भिसका अनुसार इटालीको राजधानी रोममा अहिले सम्म १३ जनाको मृत्यु भएको छ भने चार सय ३६जनामा संक्रमण देखिएको छ। कोरोनाबाट बिश्वभर अहिले सम्म ६ हजार ५ सय भन्दा बढि मानिसको मृत्यु भएको छ भने १ लाख ६९ हजार ९ सय ३२ मानिस संक्रमित भएका छन्। (एजेसीको सहयोगमा)
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update