हिमाल दैनिक
एसीसी प्रिमियर कपमा नेपालको कीर्तिमानी जित, सन्दीप रचे नयाँ विश्व कीर्तिमान

एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको थियो।

जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको ओमनले ४६.३ ओभरमा ९ विकेट गुमाउँदै जम्मा २२६ मा सिमित भएपछि नेपाल ८४ रनको विशाल अन्तरले विजयी भयो।

नेपालका लागि आजको खेलमा पहिलो पटक ३११ रनको कीर्तिमानी लक्ष्य दिएको नेपाली टिमका कुशल मल्लले पहिलो शतकीय पारी खेले भने सन्दीप लामिछानेले एकदिवसीय खेलमा ४२ खेलमै सय विकेट लिएर विश्व कीर्तिमान कायम गर्दै अफगानीस्तानका खेलाडी रसिद खानको ४४ खेलमा सय विकेट लिएको कीर्तिमान तोडे।

लामिछानेले ओमनका तीन खेलाडीलाई पेभेलियनको बाटो देखाए भने करण केसीले पनि समान ३ विकेट लिएर खेल नेपालको पक्षमा पार्न योगदान दिए। यसका अतिरिक्त दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट आफ्नोे खातामा पार्न सफल भए भने ललित राजवंशीको खातामा जम्मा १ विकेट रहन पुग्यो।

दशौं नम्बरका ओमनी व्याट्सम्यान एक्वीव इलियासले रिटार्यड हर्टका कारण मैदानमा नउत्रिएपछि एम्पायरले आजको खेल ४६.३ ओभरमै समाप्त भएको घोषणा गर्दै नेपाललाई ८४ रनको जितको नतिजा सार्वजनिक गराए।

दोस्रो इनिङमा मौसममा आएको परिवर्तनका कारण पटक पटक हावाहुरीका कारण खेल प्रभावित हुन पुगेको थियो।
ओमनका लागि मोहम्मत नदिमले ६५ रनको पारी खेले भने सन्दीप गुडले ४६ रनको योगदान गरेपनि बाँकी खेलाडीले खासै ठूलो रन जोड्न सकेनन्।

 एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो।
    
र्कीतिमानी लक्ष्य बनाउनका लागि नेपालका लागि कुशल मल्लले पहिलो शतकीय पारी खेले। कूल ६४ बल खेलेका मल्लले १० छक्का र नौ चौकाको सहयोगमा १०८ रन बनाएका थिए।

खेलको सुरुआत निकै खराब भए पनि मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको हो।

दुवै ओपनर शून्य रनमा आउट भएपछि नेपालले खेलको २८औँ बलमा मात्रै खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी गरेका थिए। कप्तान रोहितले २३ रन बनाउँदा भीम ३३ रनमा आउट भए।

पाँचौँ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए। आरिफ २९ रन बनाउँदै आउट भएका थिए।  

यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौका प्रहार गरे । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे।
    
बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update