हिमाल दैनिक
हङकङलाई ७९ रनको विशाल अन्तरले हराउँदै नेपाल फाइनलमा पुग्यो
@CriketNep

नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङलाई ७९ रनको विशाल अन्तरले हराउँदै एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ।

मुलपानीस्थित क्रिकेट मैदानमा शनिबार बिहान ११ बजेदेखि सुरु भएको खेलको सुरुमा टस जितेर पहिले ब्याटिङ गर्ने मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।

नेपालले दिएको लक्ष्य पार गर्न मैदानमा उत्रिएको हङकङले २० ओभरको खेलमा ८ विकेट गुमाउँद जम्मा १३४ रनमात्रै जोड्न सफल भएपछि नेपाल ७९ रनले विजयी भएको हो।
नेपालका लागि कुशल मल्लले ४१ बलको सामना गर्दै ९ छक्का र ३ चौका प्रहार गर्दै सर्वाधिक ९२ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऐरीले पनि ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का हान्दै ५७ रनको योगदान दिए।
यसअघि ओपनर व्याट्सम्यान कुशल भुर्तेल २ रन बनाउँदै पेभलियनको बाटो लिए भने आशिफ शेखले २० रन कप्तान रोहित पौडेलले ११ रन मात्रै बनाउन सफल भए।
जवाफमा हङकङका अंन्साइ राथले ४५, ऐजाज खानले २५, बाबर ह्यातले २० हारुन अर्सदले १२ तथा स्कट म्याकेसिनले ११ रनको योगदान दिएपनि बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी, सोमपाल कामी र ललित राजवंशीले २÷२ विकेट लिए भने प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिन सफल भए।

नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ। नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो। आजको खेलमा नेपाल विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update