हिमाल दैनिक
हेडको शतकीय पारीमा अष्ट्रेलियाले कब्जा गर्यो विश्वकपको उपाधि
Photo: @cricketworldcup

अष्ट्रेलियाले आईसिसी एकदिवसीय क्रिकेट विश्वकप–२०२३ को उपाधि हाँसिल गरेको छ।

आइतबार भारतको अहमदाबादस्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले फिल्डिê रोजेको अष्ट्रेलियाले भारतलाई छ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधिमा छैटौँ पटक कब्जा जमाएको हो।

विश्व विजेता टिमलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाली उपप्रधानमन्त्रीले विश्वकप प्रदान गर्दा झण्डै १ लाख ३० हजार भारतीय दर्शकहरुमा एक प्रकारको सन्नाटा छाएको थियो।
अष्ट्रेलियाले यसअघि सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा उपाधि जितेको थियो।

भारतीय टिम कप्तान रोहित शर्माको योजना र चाहना बमोजिम नै अष्ट्रेलियाले भारतलाई पहिले व्याटिङको निम्तो दिएपनि भारतीय खेलाडीहरुको फितलो प्रदर्शनका कारण उनीहरुले निर्धारित ५० ओभरको खेलमा २४० रन मात्रै बटुल्न सकेका थिए।
भारतले दिएको २४१ रनको लक्ष्या लिएर मैदानमा उत्रिएको अष्ट्रेलियाले चार विकेट गुमाएर ४३ ओभरमै उक्त लक्ष्य पार गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो।

अष्ट्रेलियाको जीतमा ट्राभिस हेडले एक सय ३७ रनको शतकीय पारी खेले भने उनलाई मार्नुस लबुसेनले जमेर साथ दिएका थिए।

लबुसेनले अविजित ५८ रन बनाए। साथै मिचेल मार्सले १५ र डिभेड वार्नरले सात, स्टेभन स्मिथले चार र ग्लेन म्याक्सवेलले अविजित दुई रन बनाए। भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक÷एक विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको छ। भारतीय टिमका विकेटकिपर केएल राहुलले एक सय सात बलमा ६६ रन बनाए पनि चर्चित खेलाडी विराट कोहलीले ५४ र कप्तान रोहित शर्माले ४७ रन मात्रै बनाउन सफल भए।

साथै सूर्यकुमार यादवले १८, कुलदीप यादवले १०, रविन्द्र जडेजा र मोहम्मद सिराजले नौ÷नौ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई÷दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक÷एक विकेट लिएका थिए।

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update