गृहमन्त्री रमेश लेखकले बैशाख २५ गते बिहिबार बस्ने प्रतिनिधि सभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको घटनाका बारेमा जवाफ दिने भएका छन्।
वैशाख १७ गते नाटकीय ढंगले प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाएर साँझ छोडेको घटनाको विषयमा सत्तामा सहभागी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले मंगलबारको प्रतिनिधि सभा बैठकको सुरुमै उठेर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते बस्ने बैठकमा सो घटनाका बिषयमा जवाफ दिने जानकारी दिएको सभामुख देवराज घिमिरेले बताए।
आजको बैठकमा दुबै पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका बिषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।
तर उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जवाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने मौखिक जानकारी संसद सचिवालयका सदस्यलाई जानकारी गराएका थिए।
गृहमन्त्रीको जवाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरु बसेका थिए।
त्यसअघि बैठकको सुरुमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरि केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानविन गर्न माग गरेकी थिइन्।
गत हप्ताको वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच पार्टी एकता गर्ने पूर्वसहमति बमोजिम चौधरी एकता घोषणा सभास्थल प्रज्ञा प्रतिष्ठानमा पुगेलगत्तै अपरान्ह १ बजे सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टको पत्रका आधारमा उनलाई सादा पोषाकका सुरक्षाकर्मीले पक्राउ गरी डिल्लीबजार कारागारमा बुझाएका थिए। उक्त घटनाको बारेमा अदालतभित्र भएको खोजबिन पश्चात अदालतले तत्काल विष्टको पत्र अनाधिकृत भएको भन्दै चौधरीको रिहाईका लागि पत्र पठाउँदै विष्टलाई कारबाहीका लागि प्रहरी नियन्त्रणमा पठाइएको थियो।
रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ समेत आउनुपर्ने उनले बताइन्।
अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तिको मात्रै बिषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताइन्।
उनले लोकतन्त्रप्रति विश्वास कायम रहदै सत्यप्रति सरकारको जवाफ टुट्न नहुने धारणा राखिन्।