आज २५६९औँ बुद्धजयन्ती देशभर विविध कार्यक्रमका साथ श्रद्धा, भक्ति र शान्तिको सन्देशका साथ मनाइएको छ।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) एकै दिन – वैशाख शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई विशेष त्रिसंयोग दिवसको रूपमा मनाउने परम्परा छ।
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायतका प्रमुख बौद्ध स्थलमा भव्य पूजा, आराधना, प्रवचन तथा शान्ति सन्देशमूलक कार्यक्रम आयोजना भएका छन् भने चैत्य, गुम्बा, विहारमा बौद्ध धर्मगुरु र लामाले परम्परागत विधिअनुसार पूजा तथा ध्यान कार्यक्रम आयोजना गरिएको छ।
इसापूर्व ५६३ अर्थात् २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।
राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने।
२९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए। दरबार त्यागेर निस्केपछि नै उनले बोधगयामा बुद्धत्व प्राप्त गरेको कथन छ।
लामो तपस्याबाट प्राप्त ज्ञानपछि बुद्धत्व प्राप्त गरी उनले विश्वशान्तिका लागि अमूल्य सन्देशहरू फैलाएका थिए।
त्यसैको उपलक्ष्यमा आज नेपालभित्र र बाहिर रहेका हिन्दु र बौद्ध धर्मावलम्बी विशेषगरी बुद्धर्धमका कट्टर अनुयायीहरुले बुद्ध पूर्णिमालाई विशेष महत्वकासाथ मनाउने गर्दछन्।