नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको दाबी गरेका छन्।
पार्टीका संस्थापक प्रमुख नेतामध्ये एक वीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा वीपी स्मृति अस्पताल, वीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागले संयुक्त रुपमा मंगलबार काठमाडौंमा आयोजना कार्यक्रममा सभापति देउवाले नेपालको राजनीति वीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको र मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताएका हुन्।्
देउवाले राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा वीपीको दृढ मत भएको जिकिर गरे।
उनले प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रवक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई समेत शिखरमा पु¥याउन ठूलो योगदान दिएको बताए।
त्यस्तै उनले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै पनि वीपी नेपाल फर्किएको स्मरण गरे।
त्यस्तै सभापति देउवाले वीपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यता कारण कांग्रेस वर्तमान अवस्थामा आउन सफल भएको दाबी पनि गरे।
नेपाली जनतालाई जहानिया राणाशासनको १०४ वर्षे निरंकुश शासनको अन्त्य गर्दै मुलुक र जनतालाई स्वतन्त्रता दिलाउने कार्यको नेतृत्वकर्ता कोइराला २०१५ सालको आम निर्वाचन पश्चात मुलुकको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्दै १८ महिनाको अवधिमै धेरै उल्लेखनीय कार्यको सुरुवात गरेका थिए।
तर, कोइरालाको राजनीतिक व्यक्तित्व र कार्यशैलीबाट अत्तालिएका तत्कालीन राजा महेन्द्रले १७ साल पुस १ गते कोइरालालाई अपदस्त गर्दै उनीलगायत थुप्रै नेताहरुलाई जेल हालेका थिए।
राजा महेन्द्रले लादेको निर्दलीय निरंकुश पञ्चायत व्यवस्थाको विरुद्ध कहिले जेलभित्रैबाट त कहिले निर्वाचनमा रहेर संघर्ष गर्दैआएका कोइराला पछि निर्वासनबाट स्वदेश फर्किए। त्यसपछि पनि मुलुकमा प्रजातन्त्रको खाँतिर जनमत संग्रहको माध्यमबाट व्यवस्था बदल्ने प्रयास गर्दागर्दै सफलता हासिल नगर्दै ०३९ साउन ६ गते संसारबाट भौतिक रुपमा अस्ताएर गएका थिए।