
गीताप्रेस नेपाल स्थापनाको १०औँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन तथा गीताप्रेस नेपालको वेभसाइटको औपचारिक सुरुवात भएको छ।
गीताप्रेस नेपालले दिएको जानकारी अनुसार, सत्य एवं शान्ति हेतु मानवमात्रको सेवामा समर्पित भई विगत १०२ वर्षदेखि सेवाप्रदायक विश्वविख्यात संस्था गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा नेपालमा गीताप्रेस पुस्तक विक्री केन्द्र ९ वर्षअघि काठमाडौंमा स्थापना भएको थियो।
नेपाल शाखा स्थापनाको ९ वर्ष पुरा भई १० वर्ष प्रवेशको अवसरमा बिहिबार पशुपतिस्थित माधवराज सुमार्गी स्मृति भवन वनकालीमा गीताप्रस गोरखपुरका प्रबन्ध निर्देशक लालमणि तिवारीले नेपाली अनुवादका ग्रन्थहरु विमोचन गर्नुका साथै गीताप्रेस नेपाल डटकम, गीताप्रेस नेपाल ओआरजी र गीताप्रेस नेपाल एप्स लन्च गरेका थिए।
गीताप्रेस पुस्तक विक्री केन्द्र काठमाडौंका अध्यक्ष जय किसन साडाले गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरु निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्यले पुस्तक विक्री केन्द्र काठमाडौंमा स्थापना गरिएको बताए।
आजदेखि औपचारिक रुपमा सुरु भएको वेभसाइट र मोबाइल एप्सको माध्यमबाट गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजन सहित महत्वपूर्ण लेख रचनाहरुलाई पाठकहरुले सहजै हेर्न र पढ्न पाउने छन्।
गीताप्रेसले आफ्ना अन्तर्राष्ट्रिय शाखाबाट सिंगापुर, इन्डोनेशिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुस्तक पठाउने कार्य गरिरहेको र विदेशमा रहेको मन्दिरहरुमा गीताप्रेसका प्रकाशनहरु उपलब्ध गराउने कार्य भइरहेको र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको संचालनमा सहयोग पुगोस भन्ने उद्देश्यले एवं गीताप्रेसबाट प्रकाशित भएका कृतीहरुको निःशुल्क वितरण तथा प्रचार प्रसार गरी निःशुल्क सेवा प्रदान गर्ने र सोही संस्था मार्फत नेपालमा गीता भवन निर्माण गर्ने उद्देश्य पशुपति क्षेत्र आसपास नेपालमै एक “गीता भवन“ निर्माणको योजना अगाडि सारेको छ। यस भवनको मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका सत्साहित्यहरुको थोक तथा खुद्रा विक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार–प्रसारको तयारी गर्नु र भविष्यमा अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु रहेको छ ।
यस उद्देश्यलाई मूर्तरूप दिनलाई उपयुक्त १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा खोजीकार्य पनि जारी रहेको छ। हाल पाँच सदस्यीय प्रचार–प्रसार केन्द्रलाई विस्तार गरी अधिकतम २१ जना ट्रस्टी सम्म पु¥याउने र १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा प्रदान गर्नु हुने महानुभावका लागि एक विशिष्ट ट्रस्टी आरक्षित राखिएको छ।
कार्यक्रममा प्रमुख अतिथि गीताप्रेस गोरखपुरका प्रवन्धक लालमणि तिवारी, विशिष्ट अतिथि भगवान् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक गोविन्द टण्डन, अतिथि, गीता परिवार नेपालकी अध्यक्षा– श्रीमती सारिका अग्रवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।