संक्रमितसँगै मृत्यु हुनेको संख्या चुलियो, एकैदिन २६ जनाको मृत्यु, ५७ सय संक्रमित
सरकारले परिक्षण र उपचारको दायित्वबाट हात झिकेपनि कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्याले भने निरन्तर उकालो चढ्दा आम जनता थप भय र त्रासमा बाँच्न बाध्य भएका छन्।
स्वास्थ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलनबाट प्राप्त जानकारी अनुसार, पछिल्लो २४ घण्टामा मात्रै अहिलेसम्मकै सबै भन्दा ज्यादा २६ संक्रमितको ज्यान गएको छ। त्यसैगरी बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।
कोरोनाका कारण एकैदिन मृत्यु हुने र संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि भएको हो।
यसरी संक्रमित हुनेहरुको संख्यामा पनि काठमाडौं उपत्यकाको संख्या नै अत्याधिकर रहेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकामा मात्रै ३१ सय ७ जनामा कोरोना देखिएको छ। जसअनुसार, काठमाडौमा २३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा कोरोना पुष्टि भएको छ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। त्यस्तै कोरोनाका कारण मृत्यु भएका २६ जनाको संख्यासँगै देशमा कोरोनाका कारण ७ सय ९१ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार बुधबार थप २९ सय ९६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९९ हजार ६०५ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
हाल सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ जना रहेको छ। हाल क्वारेन्टाइनमा ४ हजार ६५ जना छन् भने नेपालमा हालसम्म १३ लाख ३४ हजार ८ सय ९७ वटा पिसिआर परिक्षण गरिएको छ।
यसै साता सरकारले संक्रमणको दर बढ्दै गइरहेको अवस्थामा त्यसको आर्थिक व्ययभार बढ्दै गएको भन्दै फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अति विपन्न नागरिकबाहेक अन्यको परिक्षण, उपचार तथा मृतकको दाहसंस्कार नागरिक स्वयं र निजको परिवारले नै गर्नु पर्ने निर्णय गरेको थियो।
जसको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि समाजका विभिन्न क्षेत्रबाट चर्को विरोध हुँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय