हिमाल दैनिक
६ महिनापछि स्कुल खुल्दा उल्लास
1601257297_laxminarayan_school-1200x560-wm
घोराही उपहानगरपालिका हापुरकी समीक्षा दाहालले ६ महिना घरभित्रै गुम्सिएर बिताइन् । हापुर मावि निघुवार कक्षा १० की विद्यार्थी उनलाई लाग्थ्यो, स्कुल कहिले खुल्ला ? स्कुल बन्द हँुदा उनमा बेचैनी बढ्यो । तर अहिले स्कुल खुलेको छ, कोरोना त्रास भए पनि उनी खुसी छिन् । दाहालले कक्षा ९ को परीक्षा दिएपछि कोरोनाका कारण ६ महिनासम्म स्कुल बन्द भयो । उनको स्कुले साथीसँग लामो समयसम्म भेटघाट हुन सकेन । ‘कक्षामा पढ्ने साथीसँग पनि लामो समयसम्म भेट हुन सकेन,’ उनले भनिन्, ‘पढ्न पनि पाइएन । घरभित्रै थुनिएर बस्दा साह्रै अप्ठेरो भयो, बेचैनी बढ्यो ।’ ६ महिनापछि उनको त्यो असहजता मेटिएको छ । अहिले उनी नियमित विद्यालय जान थालेकी छन् । ‘६ महिनापछि स्कुल जान पाइयो,’ उनले भनिन्, ‘स्कुल जान पाउँदा धेरै खुसी लागेको छ ।’ विद्यालय जान पाउँदा हर्षित उनलाई कोरोना संक्रमणको त्रासले भने घोचिरहेको छ । ‘कोरोनाको डर त छ तर मास्क लगाएर विद्यालय जान्छौं, पटकपटक हात धुन्छौं,’ उनले भनिन् । हापुरकै केशव बस्नेतले पनि ६ महिनापछि विद्यालय खुलेपछि साथीसँग भेट्न पाए । ६ महिनापछि स्कुल गएर पढ्न पाउँदा उनी पनि दंग छन् । ‘यो वर्षभरि नै स्कुल गएर पढ्न पाइन्न कि भन्ने डर लागिरहेको थियो,’ उनले भने, ‘तर स्कुल खुल्यो, खुसी लागेको छ ।’ उनले सुरक्षा सावधानी अपनाएर विद्यालय जाने गरेको बताए । ‘मास्क अनिवार्य प्रयोग गर्छौं अनि भौतिक दूरी पनि कायम गरी पढ्छौैं,’ उनले भने, ‘विद्यालयले पनि हात धुन साबुनपानीको व्यवस्था गरिदिएको छ ।’ जया बस्नेत पनि असोज सुरु भएपछि नियमिति स्कुल जान्छिन् । उनले पनि सुरक्षा सावधानी अपनाएर स्कुल जाने गरेको बताइन् । सरकारले सिकाइ निर्देशिका, २०७७ जारी गरेसँगै सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि विद्यार्थी खुसी भएका हुन् । ‘मलाई यो वर्ष विद्यालय खुल्छ र पढ्न पाइन्छ भन्ने लागेकै थिएन,’ सोही विद्यालयकी विद्यार्थी जयाले भनिन्, ‘तर सरकारले विद्यालय खोल्ने वातावरण बनाइदियो, हामी स्कुल जान पायौं ।’ यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update