‘कि रोजगारी दे, कि कोरिया जान दे’ भन्दै इपिएस पिडितद्वारा माइतीघरमा प्रदर्शन
                        
                        
                                                
                                            
                                                
                        रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परिक्षा उत्तिर्ण भई रोजगारीका लागि कोरिया जाने प्रतिक्षामा रहेका अलपत्र युवाहरुले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
इपीएस पास गरेर उडानको प्रतिक्षामा रहेका युवाहरुले काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
उडानको प्रतिक्षामा रहेका कामदार पठाउन सरकारसँग उनीहरुको माग गरेका छन्। सरकारी समन्वयको अभावमा रोजगारी गुम्ने अवस्था आएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन।
विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाइरस संक्रमणका कारण सरकारले जारी गरेको आंशिक लकडाउनको अवस्थामा पनि उनीहरुले सरकारी निर्देशन अनुसार, सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे,’ ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सुरु गर’ लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए।
दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन्। रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको उनीहरुको भनाइ छ।
लकडाउन सुरु भएसँगै सरकारले हवाई सेवा रोकेकाले कामदारहरु रोकिएका हुन्। चार महिनादेखि कामदार कोरिया जान पाएका छैनन्। भाषा परीक्षा पास गरेर उडानको तालिका आएकाहरु समेत अकस्मात रोकिएका थिए।
                        
                    
                प्रकाशित मिति: आइतबार, असार २१, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

