हिमाल दैनिक
सुदूरपश्चिम प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा रहेका प्रशिक्षकले व्यक्तिगत मोटरसाइकल धुन लगाउँदा दाहिने हातको औँला काटिएका बैतडी जिल्ला घर भएका २२ वर्षीय तालिमे प्रहरी जीतेन्द्र चन्दलाई काठमाडौँ सिफारिश गरिएको छ । आज बिहान प्रशिक्षकले मोटरसाइकल धुन लगाएका कारण उनको दाहिने हातको औँला छिनेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उक्त अस्पतालमा उनको काटिएको औँला जोड्न नसकिएपछि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको आदेशमा उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको हो । चन्दको काटिएको औँला बरफमा राखेर २४ घण्टाभित्र सुविधासम्पन्न अस्पतालमा पु-याउन सकिए जोडिन सक्ने चिकित्सकको सल्लाहबमोजिम उहाँलाई काठमाडौँ लगिएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ । उनलाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको एम्बुलेन्समा काठमाडौँ लगिएको छ । चन्दलाई तालीम केन्द्रमा कार्यरत प्रशिक्षकले आफ्नो निजी मोटरसाइकल धुन लगाउँदा मोटरसाइकिलको जञ्जीरमा दाहिने हातको औँला परेपछि छिनेको थियो । दाहिने हातको औँला प्रहरीको सलामी दिने तथा फायरिङ गर्नेदेखि अन्य काममा बढी प्रयोग हुन्छ । उहाँलाई भविष्यमा बढुवादेखि अन्य तालीम, मिसनमा जानेलगायत कुरामा समस्या उत्पन्न हुने भएकाले आँैला जोड्नका लागि काठमाडौँ लगिएको प्रदेश प्रहरी तालीम केन्द्र दिपायलले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update