केटीकी आमा भन्छिन्ः ‘छोरीलाई बिवाह गरी लिए पछि बेईज्जत हुने भयो नि।’
रुकुम चौरजहारी घटनामा मारिएका नवराज बिकसहित ६ जनाको हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गरिएको रिट निवेदन र त्यसमा उल्लेखित वयानका आधारमा पक्ष र विपक्षले आफ्ना आफ्नै तर्क र जानकारी दिएका छन्।
यसरी वयानका क्रममा प्रतिवादीहरुले जाजरकोटाबाट आफ्नो छोरीलाई लैजान आएका नवराज बिकसहितको टोलीलाई पूर्व योजना र सल्लाह बमोजिम नै गाउँलेलाई खबर गरेरपछि घेरा हाली आक्रमण गरिएको वयान नवराजकी प्रेमिका भनिएकी बालिककी आमाले दिएकी छिन्।
कसको वयानमा के भनिएको छ?
केटिको आमाको आमाको बयान:
मेरो छोरी र नबराज बि.क बीच फेसबुक मार्फत चिनजान भएको रहेछ। पटक-पटक नबराज समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ । मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसंग नबराजले मेरी छोरीलाई घरबाटै थुतेर लैजान केटाहरु लिएर जान्छु भन्ने कुरा गरेको थाहा पाई जेष्ठ १० गते मेरी छोरीलाई मैले फोन गरी बुझ्दा नबराजले मेरी छोरीलाई लैजान केटाहरु ल्याएर आउदैछ भन्ने थाहा पाए।
दलित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बेईज्जत हुने भएकाले बेईज्जत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मारी दिए बिबाह हुन नपाउने भएकोले नबराजले केटाहरु लिएर आए मारी दिने भनि घरपरिवारले सल्लाह गरि योजना बनाएका थियौं । जेष्ठ १० गते साँझ करिब ५ बजे मेरो छोरी घर भित्र टि.भी. हेरी बसिरहेको र म घर बाहिर आँगनमा रहेको अबस्थामा नबराज र अन्य केटाहरु आएको देखे। मैले नबराजलाई ' तँ डुम फेरि किन आईस आज मर्छस्' भनि गालिगलौज गरे। त्यस पश्चात मेरो श्रीमानलाई फोन गरी नबराज. समेतका केटाहरु घरमा आएका छन भनि खबर गरे।
पछि निज केटाहरु घर देखी तल तिर गए। पुर्ब योजना बमोजिम मेरो श्रीमानले वडा अध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरे पछि वडा अध्यक्षले पुर्ब सल्लाह र योजना बमोजिम गाउँमा खबर गरेको र मैले नबराज समेतका केटाहरुलाई तलसम्म निगरानि गरेको थिएँ । केही समय पछि मेरो श्रीमान,छोरा,मोहन पुन समेत घरबाट संगै केटाहरुलाई पिछा गर्दै लखेट्दै गएका थिए । अन्य के भयो मैले देखिनँ । नबराज समेतका केटाहरुलाई लखेट्दै भेरी नदी पुर्याई लखेट्दै गएका ब्यक्तिहरुले कुटपिट समेत गरी नबराज समेत ६ जनालाई मारी भेरी नदीमा बगाएको र अन्य १२ जनालाई घाईते बनाएको थाहा पाएकी हुँ।
नवराजकि प्रेमिकाको बयान:
'नवराजले फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड रेक्वेष्ट पठाएको थियो। मैले उसको रेक्वेष्ट स्वीकार गरे। त्यस दिन देखि हामी साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो। उसले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए।
नवराजले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङगा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ। बैशाख १७ गते राती ८/९ बजे समेत उसले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घर नजिकै आएको मौकामा मेरो बुवा, आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी उसलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए।
मैले नवराजलाई फेसबुकमा ब्लक गरे। त्यसपछि ऊसँग कुनै कुरा भएन, घटनाको दिन नवराजले केटाहरु ल्याएर आउँदै छन भन्ने कुरा मलाई थाहा थिएन, जेष्ठ १० गतेको दिन म घर कोठामा टिभी हेरी रहेकी थिए, मेरो घर नजिक नवराज समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली गरि पठाउनु भएको रहेछ।
सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर मैले केटाहरुलाई देखिन, भोलीपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुने ।
केटिको बुबाको बयान:
मेरो श्रीमतीले नवराज घरमा आएको देखि डुम मेरो घरमा पटक पटक किन आउछस भनी गाली गरेकी हुन। उनले मलाई फोन गरि नबराज फेरी १७/१८ जना केटा लिएर आएको छ भनी फोन गरे पछि मैले डम्बर बहादुर मल्ल(वडा अध्यक्ष)लाई फोन गरी जति सम्झाउदा पनि मानेन् यिनिहरुलाई आज तह लगाउनु पर्छ भनेको थिए ।
मैले उनिहरुको पिछा गर्दै जाँदा डम्बर बहादुर मल्ल समेत हामीहरु भएको ठाउँमा आएकोले सोही ठाउमा भेला भएका मेरा छोरा, प्रेम बहादुर ठकुरी, डिल्ली मल्ल लगायतले तल झरी चारै तिरबाट घेरा हाली पछाडिबाट ढुगां, लाठी हान्दै लखेटदै लिए पश्चात केटाहरु भेरी नदीको बगरमा हाम फाले । मेरी छोरी र श्रीमति घटनास्थलमा गएका थिएनन । हामीहरुले नै नवराज समेतका केटाहरुलाई घेरा हाली लखेटी कुटपीट गरेका कारण मृत्यु भएको हो । मृतकहरुको शरीरमा लागेको चोटपटक वारदातको क्रममा म समेतले प्रहार गर्दा लागेको हुनुपर्दछ । मैले मेरो श्रीमतीको मोबाईलमा कुरा समेत गरेको हुँ ।
दाईको बयान:
मैले कालेगाउँ पुल जाने बाटो तर्फबाट घेरा हालेको थिए । हामीहरु घेरै थियौ को कसले कता घेरो छेको हाले एकिन भएन सबैले घेरा हाली ढुगां लाठी समेत लिएर लखेटदै जाने क्रममा मोहन पुन मगर, सन्तोष मल्ल, विनोद मल्ल, बिष्णु मल्ल, बुबा, डम्बर बहादुर मल्ल, टोप बहादुर मल्ल, धनाराजराना, रमित पुन, विराज पुन, भिम बहादुर पुन, नविन घर्ति र म समेतले नवराजलाई लखेटदै ढुगां, लाठी समेतले प्रहार गरी भेरी नदीको भङगालो पारी पुर्याई कर्तव्य गरी मारी वेपत्ता बनाउने उदेश्यले भेरी नदीमा बगाई अन्य ५ जना केटाहरुलाई लाठी ढुगां समेतले कुटपिट गरेका हौँ । वारदातको दिन नवराज मेरो घरमा आएको अवस्थामा मेरो आमाले डुम भनी गाली गरेकी हुन ।
वारदातको दिन मैले मेरी श्रीमतीको मोबाईल नम्बर प्रयोग गरेको थिए तत्काल उनीहरुलाई देखेपछी मेरी आमा, विनोद मल्ल समेतलाई फोन गरी खबर गरेको थिए । मृतक नबराज समेतको टाउको लगायत शरीरमा लागेको चोटपटक वारदातको क्रममा म समेतले प्रहार गर्दा लागेको हुनुपर्दछ ।
सुस्मा मल्ल:
बैशाख महिनाको अन्तिम तिर नबराज बि.क.ले मैले कहिले काही प्रयोग गर्ने बुवाको मोबाइलमा फोन गरेर लकडाउन खुलेपछि परिबर्तित नाम ५४ रुकुम पश्चिम ३६ (केटि) लाई साथिहरुलाई लिएर जान्छु अनि उसलाईलाई ल्याएर आउछु भनेका थिए। सो कुरा मैले मेरै घर नजिकको साथी शर्मिला चन्दलाई भनेकी थिएँ । शर्मिला चन्दले आफ्नो सहोदर फुपु (केटिकी आमा)लाई भनेकी रहेछिन ,मैले उक्त कुराको जानकारी प्रतिबादी परिबर्तित नाम ५४ रुकुम पश्चिम ३६(केटि ) र परिबर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२)(आमा) समेत कसैलाई पनि भनेकी थिईन । जेष्ठ १० गते बिहान ०७:०० बजे तिर प्रतिबादी परिबर्तित नाम ५४ रुकुम पश्चिम ३६ (२)(आमा) ले शर्मिला चन्दले प्रयोग गर्ने मोवाई मा हाम्रो कुरा भएको थियो भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ
सर्मिला चन्द:
मौकामा कागज गर्दा परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(२) (आमा) मेरो सहोदर फुपु नाता पर्ने भएकोले दिदी, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१)(बुवा) फुवाजु र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(३) दाई नाता लाग्नु हुन्छ, आफ्नो मान्छे भएकोले एक आपसको घरमा जाने आऊने गर्ने गर्दछौ।
नवराज र मेरो दिदी बिच प्रेम सम्बन्ध भएको मलाई थाहा थियो ।मलाई नवराज वि.क.ले पटक पटक फोन गरी दिदि को बारेमा सोध्ने र मलाईलाई' म जसरी पनि विवाह गर्ने हो तिमी मेरो साली नाता पर्नुहुन्छ' भन्दै थिए । मैले मेरो फुपु(आमा) लाई नवराजले दिदिलाई लिन जेठ ९/१० गतेतिर केटाहरु ल्याएर आउँछुभन्दै थिए भनेपछि मेरो फुपुले त्यसलाई आउन दे पहिला पनि संझाएर पठाएकी हुँ। त्यो अब आएपछि देखाई दिन्छु भन्नुभएको थियो ।जेष्ठ ११ गते बिहान नबराजको लाश भेरी नदीमा फेला परेको छ रे भन्ने हाम्रो गाउँघरमा हल्ला सुनी थाहा पाएकी हुँ । पछि ५ जना ब्यक्तिहरुको लाश भेरी नदीमा फेला पर्यो भन्ने कुरा सुनेर थाहा पाएकी हुँ । नवराज बि.क.समेतका केटाहरु दिदिलाई लिन घर नजिक गएको अवस्थामा फुपूले जातिय बिभेद राखी डुम भनी गाली गलौज गरी प्रतिवादी डम्बर बहादुर मल्ल समेतका व्यक्तिहरुले लखेट्दै भेरी नदीमा पुर्याई ढुङगा,लाठ्ठी समेतले प्रहार गरी भेरीमा बगाएको भन्ने कुरा थाहा पाएकी हुँ भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय