हिमाल दैनिक
आफ्नो बस्तीमा दिनहुँ अज्ञात ब्यथाबाट भटाभट मृतक बढ्दै गएपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को मेघरोलमा त्रास र शोक छाएको छ । एउटै बस्ती देखिने दुवै नगरपालिकाका यी बस्तीमा दिनहुँ मृतक थपिदै गएपछि त्रास र शोकले घर जमाएको हो । गत मङ्गलबारयता शुक्रबारसम्म त्यहाँ आठ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ । मङ्गलबारअघि पनि (पाँच दिन पहिले) एक जनाको मृत्यु भएको थियो । वैशाख ११ गते भङ्गाहा–७ मेघनाथगोरहन्नाका ४२ वर्षीय महेन्द्र चौधरीको मृत्यु भयो । बाक्लै रक्सी सेवन गर्ने उनको मृत्युलाई स्वभाविक मानेका स्थानीयवासीले गत मङ्गलबारयता बस्तीका एकपछि अर्को मर्दै गएपछि शोकसँगै त्रासमा परेका हुन् । पछिल्लोपटक शुक्रबार बर्दिवास–१२ का ५५ वर्षीया मोमनीदेवी सरदार र २६ वर्षीय सुपीन्द्र मण्डलको मृत्यु भएको हो । सो बस्तीकै ५२ वर्षीय गङ्गाराम सदाको गत बुधबार मृत्यु भएको थियो । त्यसैगरी सो बस्तीसँगै जोडिएको भङ्गाहा–७ मेघनाथगोरहन्नामा मङ्गलबारयता पाँच जनाको मृत्यु भइसकेको छ । भङ्गाहा–७ मा मङ्गलबार ५२ वर्षीय नथुनी चमार र ४० वर्षीय मोहन चौधरीको मृत्यु भयो । लगत्तै बुधबार भङ्गाहा–७ कै ५४ वर्षीय लालबाबु सिंह र बिहीबार ५५ वर्षीय सुकदेव (सिताइ) महरा र ४२ वर्षीय सिकेन्द्र सिंहको मृत्यु भएपछि दुवै बस्तीमा वैशाख ११ यता हालसम्म मृतकको सङ्ख्या नौ पुगेको हो । बर्दिवास–१२ र भङ्गाहा–७ झट्ट हेर्दा एउटै बस्ती देखिने जोडिएका बस्ती हुन् । मृतक सबै रक्सीका अम्मली भएका हुँदा विषाक्त मदिराको सेवनले मृत्यु भएको त्यहाँका स्थानीयवासीको अनुमान छ । ग्रामीण बस्तीमै अवैधरूपमा सञ्चालित भट्टीबाट उत्पादित मदिरा खाने बानी भएको हुँदा त्यसकै कारणले विभिन्न स्वास्थ्य समस्या बढेर नौ जनाकै मृत्यु भएको बर्दिवास–१२ र भङ्गाहा–७ का वडाध्यक्ष क्रमशः रामकिशोर साह र वासुदेवसिंह थारूको ठम्याइ छ । “मृतक सबै रक्सीका अम्मली हुन्”, बर्दिवास–१२ का वडाध्यक्ष साहले भने , “यिनीहरुको मृत्यु विषाक्त रक्सी सेवनले नै भएको हुनपर्छ, यद्यपि शव परीक्षण रिपोर्ट आएपछि यसको यकिन हुनेछ ।” भङ्गाहा–७ का वडाध्यक्ष थारूले पनि सबैको मृत्यु अनियन्त्रित रक्सी सेवनबाटै भएको बताए । “मृत्युको निहुँले जे प्रमाणित भए पनि मृतकमा त्यो कारण भने रक्सीको अत्यधिक सेवनले नै भएको हुनपर्छ”, थारूको भनाइ छ । मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेब (सिताइ) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । पछिल्लो समयमा जताततै कोभिड–१९ को सन्त्रास छाएका बेला बस्तीमा भटाभट मर्नेको सङ्ख्या बढ्दै गएपछि यसबारे यकिन हुनुपर्ने स्थानीयवासी बताउँछन् । “मृतक सबै पहिलेदेखि नै मदिराका अम्मली त हुन्, तर अहिले संसारभरि नै कोरोना सन्त्रास छाएको हुँदा यहाँका सर्वसाधारणमा शोकसँगै त्रास छाएको छ”, भङ्गाहा–७ का राजनीतिक, सामाजिक अगुवा चन्द्रनारायण सिंहले भने , “राज्यले यसबारे आश्वस्त बनाउनुपर्छ ।” यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने , “अब पिसीआर जाँच र शव परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।” शुक्रबारै ती बस्तीमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्सती बुझ्दा मदिरा सेवन र मलेरिया मृत्युको कारण हुनसक्ने बुझिए पनि यसको यकिन जाँच हुनुपर्ने बताएका छन् । आफुले यस प्रयोजनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रदेश नं २ सरकारको ध्यानाकर्षण गराएको सञ्चारकर्मीसँगको कुराकानीमा उनले जानकारी दिए । मृतक सबै गरिब परिवारका छन् । मृत्युको कारण जे भए पनि परिवारजनको पीडा हेरेर भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले आफ्नो नगर क्षेत्रका मृतकको काजकिरीयावापत रु २१÷२१ हजार उपलब्ध गराइने जानकारी दिए । मेघनाथ गोरहन्नामा एक साता पहिले मात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाइने कच्चा पदार्थ र चार भट्टी नष्ट गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update