डाक्टर पुनलाई कोभिड-१९ विरूद्धको अभियानलाई सहयोग गर्न बोलाइएको हो: स्वास्थ्य मन्त्रालय

डा. पुनले भने- 'मन्त्री तथा मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिनुस्'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ।
मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताए। मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टिकरण सोधिएको भनि प्रकाशन/प्रशारण भएका समाचार सत्य नभएको उनको भनाई छ। ‘अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सहसचिव विष्टले बताए।
सञ्चारमाध्यममा सत्यतथ्य नबुझि समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सहसचिव विष्टले बताए। सहसचिव विष्टले विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको आरोप लगाए। उनले भने, ‘प्रमुख मेडिकल अधिकृत पुनले समेत आफूले पत्र नपाएको भनि मिडियालाई बताएको सन्दर्भमा मिडियाहरुले उनको भनाइनै खण्डन हुने गरी मन्त्रालयले पठाएको पत्रमा उनलाई स्पस्टिकरण सोधेको भनी कपोकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपूर्ण छ।’
मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड-१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैरस्यता छर्ने काम भएको सहसचिव विष्टको भनाई छ।
यसैबीच प्रमुख मेडिकल अधिकृत डा. पुनले पनि विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले मन्त्रालयले अस्पताललाई पठाएको पत्र आज प्राप्त भएको जानकारी दिँदै अस्पतालको काममा बधा नपर्ने गरी कोभिड-१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन भनिएको प्रष्ट पारेका छन्।
उनले यसलाई आफूले सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशिल रहेको प्रष्ट पारेका छन्। उनले यस सम्बन्धमा मन्त्री तथा मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिन र विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिन आग्रह गरेका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय