अनलाइन, फेसबुक, युट्युवबाट डलर कमाउने सपना राष्ट्र बैंकले उडाउँदै

सरकारले सामाजिम सञ्जाल, सञ्चारमाध्यम र पत्रकारहरुमाथि नियन्त्रण गर्ने लक्ष्यसहित विभिन्न विवादस्पद कानून मस्यौदा अघि सारिरहेको बेला सामाजिक सञ्जाल तथा अनलाइन सञ्चालनकर्तामाथि राष्ट्र बैंकले पनि कोर्रा हिर्काउने तयारी गरेको छ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै सामाजिक सञ्जाल र अनलाइन मार्फत गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानूनी हुने बताएको छ।
‘फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा जारी सूचनामा भनिएको छ।
साथै यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकोले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र प्रचलित कानून बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले जारी गरेको उक्त सार्वजनिक सूचनाले कतिपय सरकारी निकायका पदाधिकारी र उच्च ओहोदका राजनीतिककर्मी, जसले बेला बखतमा आफ्नो फेसबुक पेजमा मन पराउनेको संख्या बढाउन डलर खर्च गर्ने गर्दछन्, लाई पनि प्रभावित गर्ने सम्भावना बढेको छ।
खासगरी उक्त सूचनाले पछिल्लो समय नेपाली समाजमा अनियन्त्रित रुपमा बढ्दै गएको फेसबुक, ट्वीटर र युट्युव सञ्चालनकर्ताका अतिरिक्त अनलाइन पत्रिका सञ्चालकलाई समेत अप्ठ्यारोमा पार्ने सम्भावना बढेर गएको छ।
कतिपय व्यक्ति र संस्थाले आफ्नो फेसबुक, ट्वीटर र युट्युवमार्फत विभिन्न सामाग्री राखेर मनिटाइज गर्दै मासिक रुपमा लाखौँ रुपैयाँ विदेश मुद्रा आर्जन गर्दै आएका छन्। यदि सरकारी निकायले प्रकाशित गरेको सूचना व्यवहारमै लागू भयो भने सर्वसाधारणले विदेशी मुद्रा आय आर्जनका लागि सञ्चालन गरेका अनलाइन र सामाजिक सञ्जालमात्र होइन स्थापित सञ्चारमाध्यम विशेषगरी अनालाइन पत्रिका, टेलिभिजन समेत कारबाहीको दायरामा फस्ने निश्चित छ।
राष्ट्र बैंकको उक्त सार्वजनिक सूचनाप्रति सामाजिक सञ्जालको प्रयोगकर्ता तथा उद्योग व्यवसायीहरुले समेत चासो देखाएका छन्।
यसरी चासो देखाउने क्रममा सामाजिक अभियानकर्ता तथा व्यवसायी आनन्द बतासले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘फेसबुक, ट्वीटर, युट्युव जस्ता सामाजिक साइटमा विज्ञापन गरे मुद्रा अपचलनमा कारबाही हुने राष्ट्र बैंकको चेतावनी कानूनसम्मत भएपनि व्यवहारिक छैन। विश्वव्यापीकरणमा विज्ञापनको नयाँ प्लेटफर्म उपयोग गर्नबाट नेपालीलाई बञ्चित गराइनु हुँदैन। बरु पेमेन्ट गेटवे नेपाली नै हुनुपर्छ भन्नुसम्म ठिक हो।’
https://twitter.com/RajBatas/status/1223484139212427265

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय