हिमाल दैनिक
प्रहरी निरीक्षक दाहालको पशुपति आर्यघाटमा दाहसंस्कार
pashupati dahal
धनुषामा भएको बम विष्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहाललाई बुबा प्रकाश शर्माले दागबत्ती दिएका थिए । उहाँको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकारीले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जलि अर्पण गरे । धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ कुचियाही टोलमा गएराति बम विष्फोटन हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । सङ्खुवासभामा जन्मिनुभएका दाहाल हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आएका थिए । विसं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी विसं २०६० असोज ९ गते प्रहरी नायब निरीक्षक तथा विसं २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा पदोन्नति भएका थिए । स्व दाहालका बुबा, आमा, श्रीमती र एक छोरा छन् । दाहाल गत साउन ८ गतेदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखका रुपमा कार्यरत थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update