गाउँपालिकाको कार्यालयमा आगजनी
सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताए। घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय