बडादसैं महानवमी: तलेजु मन्दिर सोमबार खुला

काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर सोमबार खुला गरिएको छ ।
वर्षको एक दिन बडादसैंको महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सोमबार बिहान विशेष पूजापाठ गरिएको छ । तलेजु भवानीको दर्शन गर्न आउने भक्तजनहरुको घुइँचो लागेको थियो ।
दर्शन गर्न आउने भक्तजनहरुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाइएको छ । नेवार समुदायको इष्टदेवीकारुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् । मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् ।
सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् ।
राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउँछु’ भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।
वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।
https://www.facebook.com/himaldainik/videos/383036459303188/
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय