हिमाल दैनिक
अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोह पक्राउ
cheque-11
नक्कली चेकमार्फत अर्काको बैंक खाताबाट लाखौं रुपैयाँ निकाल्ने गिरोहका ६ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै जनता बैंकबाट १९ लाख ९ हजार रुपैयाँ निकाल्ने गिरोहलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन्। उनीहरुबाट १८ लाख ५० हजार नगद सहित विभिन्न बैंकहरुका ठूलो परिमाणमा चेकबुक तथा खाता खोल्न तयार रहेका फर्महरु फेला परेको छ भने विभिन्न व्यक्तिहरूको नागरिकताको करिब ८८० प्रतिलिपि समेत बरामद गरेको छ। गत ८ गते राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहाकले आफ्नो खाताबाट पटक पटक गरि १९ लाख ९ हजार रुपैयाँ निकालेको उनको मोबाइलमा मेसेज आएपछि अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । यसमा बैंकका कर्मचारीको पनि मिलेमतो हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको सुवेदीले बताए। गिरोहले नक्कली चेक बुक बनाएर खाताबाट पैसा झिकेको थियो। राजबाहकको खाताबाट पैसा निकाल्न पुनः चेक बोकि एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सुचना प्राप्त हुनासाथ उसलाई नियन्त्रणमा लिइएको थियो। उनीहरुले अन्य बैंकबाट पनि त्यसरी नै पैसा निकालेको हुन सक्ने प्रहरीको अनुमान रहेको सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update