मृगौलाको समस्याबाहेक स्वस्थ रहेको दाबी गर्ने प्रम ओलीको १८ दिनमा तेस्राे पटक डायलाइसिस
प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा शनिबार तेस्रोपटक हेमोडायलाइसिस गरिएको छ।
कार्तिक १२ गते अचानक अस्पतालमा पुगेर मिर्गौलाको हेमोडायलाइसिस गराएका प्रधानमन्त्री ओली शनिबार पुनः ग्रान्डी अस्पतालमा हेमोडायलाइसिस गराउन पुगेका थिए।
कात्तिक १२ र १३ लगातार दुई पटक हेमोडायलाइसिस गराएर पनि आफूलाई मृगौलाले समस्या दिएको बाहेक स्वस्थ रहेको दाबी गर्ने प्रधानमन्त्री ओलीको १७ दिनपछि पुनः अर्कोपटक पनि डायलाइसिस गरिएको हो।
आजको उपचारका क्रममा चिकित्सकले यसअघि उनको पिशावनलीमा राखेको स्टेन्ट पनि निकालिदिएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ उपचारमा नीजि चिकित्सक दिव्या सिंह शाह, अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवाली खटिएको ग्रान्डीका अस्पतालका डाइरेक्टर डा. चक्रराज पाण्डेले बताए।
पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिए। उपचारपश्चात् प्रधानमन्त्री ओली शनिवार नै निवास फर्किएका छन्।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मृगौलाले समेत राम्रोसँग काम नगरेपछि ओलीका सामु नियमित रुपमा कम्तीमा हप्ताको दुई पटक डायलाइसिस गर्ने वा पुनःमृगौला प्रत्यारोपण गर्ने भन्ने विकल्प रहेको चिकित्सकले बताएका थिए।
उनको स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ मा सिंगापुर गएर प्लाज्माफेरोसिस पद्धतीको उपचार गराएर फर्किएका थिए।
त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने चिकित्सकहरूले बताउँदै आएकाछन्। ओलीको आफूले नियमित डायलाइसिस भन्दा मृगौला प्रत्यारोपण गराउन चाहेको र यसका लागि अमेरिकाको उच्चप्रविधि सम्पन्न अस्पतालमा जाने तयारीमा रहको स्रोतको दाबी छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय