कमलविनायक–नगरकोट सडकभरी शारदा अधिकारीको पाेष्टर, नेकपा अध्यक्ष दाहाललाई तनाव

राजधानीका मुख्य सडकका दायाँ/वायाँ रहेका विजुलीका पोलहरुमा नेपालकी राष्ट्रपति र नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपतिको फोटोहरुले सजिए जस्तै भक्तपुरको कमलविनायक नगरकोट सडक र त्यसक्षेत्रका सार्वजनिक स्थलमा ठेकदार शारदाप्रसाद अधिकारीको फोटोले भरिभराउ छ।
सोही जिल्लाको एउटा प्रदेश सभामा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनेका प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको भन्दा ज्यादा प्रचार शैलुङ कन्स्ट्रक्सनका मालिक अधिकारीको भएको देख्दा अचम्म लाग्न सक्दछ।
तर, यसरी पोल पोल र सार्वजनिक स्थलदेखि सवारी साधनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका द्धितीय अध्यक्ष पुष्पकमल दाहालका घरवेटी अधिकारीको फोटो चुनावमा उम्मेदवार बनेको कारणले मत माग्न गरिएको होइन।
भारतीय ऋण अनुदानमा पाँच वर्षअघि नै सम्पन्न गरिसक्नु पर्ने सडक सात वर्ष वितिसक्दा पनि नबनेपछि स्थानीयवासीले विरोधको नयाँ शैली अपनाएर ठेकदारको फोटोसहितका पोष्टहरु टाँसेका हुन्।
दाहालका घरवेटीका रुपमा परिचित अधिकारीको फोटो र नाम उल्लेख गरिएका पोष्टरहरुमा भनिएको छः शारदा अधिकारी, कमलविनायक नगरकोट सडकको ठेकदार, कालोपत्रे छिटो गर।
विभिन्न साइजका कतिपय पोष्टरहरुमा तल अधिकारीको नाम र फोटोमाथि कुकुर र बाँदरको फोटो राखेर स्थानीयवासीले आफ्नो आक्रोस व्यक्त गरेका छन्।
यसरी पोष्टर टाँसेर गरिएको विरोधले नेकपा अध्यक्ष दाहाल निकट नेता कार्यकर्तालाई भने तनाव दिएको छ।
तर, उक्त निर्माण कम्पनीका निर्देशक सुदन गौलीले उक्त सडक निर्माणमा विविध कारणबस ढिलाई भएको स्वीकार्दै यसमा राज्यको पनि दोष रहेको दाबी गरे।
उनले भने, ‘पछिल्लो पटक सरकारी निकायबाट हालसालै म्याद थपिएको छ। जसअनुसार, उक्त सडक २०२० अप्रिलभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ।’
स्थानीयवासीले गरेको विरोध र आन्दोलनका विषयमा आन्दोलनकारीले कम्पनीसँग कुनै जानकारी नलिई ५१ प्रतिशत भारतीय कम्पनी शेयर भएको योजनामा ४९ प्रतिशत मात्रै शेयर भएको शैलुङ कन्स्ट्रक्सन कम्पनी र यसका संचालक अधिकारीलाई गालीगलौज गर्ने काम भएको दाबी गौलीले गरे।
नेकपा द्धितीय अध्यक्ष दाहालका घरवेटी भएको नाममा गरिएको प्रचारवाजी राज्यकै तर्फबाट दाहाललाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको षडयन्त्रको अर्को कडी भएको हुन सक्ने दाहाल निकट स्रोतको दाबी छ।





प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय