हिमाल दैनिक
प्रधानमन्त्रीकै अंगरक्षक जुवाडे भएपछि कसको के लाग्छ?
Rajendra Shahi
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशिलता र सुशासनकोसँगै उच्च नैतिकताको पाठ अरुलाई पढाउँदा ओलीको गला सुक्यो होला तर, उनैका आसेपासे र अंगरक्षको कानमा भने पर्न सकेनछ्। त्यसको पछिल्लो उदाहरण हो प्रधानमन्त्रीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी नै जुवाको खालबाट पक्राउ पर्नु। नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाही शुक्रबार साँझ सामाखुसीस्थित एक घरमा जुवा (म्यारिज) खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा परे। महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको एक टोलीले मेजर शाहीसहित ८ जनालाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गर्यो। जहाँ उनीहरुले जुवा खेलिरहेका थिए। यसरी पक्राउ पर्नेहरुको सूचिमा शाहीसँगै घरधनी मगर, जित गुरुङ र किरणजंग शाह गोरखा, बुद्धिलाल मगर रामेछाप, मानकाजी गुरुङ र धर्म शाह टोखा काठमाडौं, र निरज राणा सुर्खेतका रहेका छन्। प्रहरीले उनीहरुको साथबाट एक लाख ५९ हजार ३ सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ। प्रमुख सेनानीको नेतृत्वमा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको सैनिक टोलीका सेनानी शाही शुक्रबार बिदामा बसेका थिए। बिदाको समयमा अधिकांश समय जुवातासमै उनी रमाउँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। प्रहरी स्रोतका अनुसार, केही दिनअघि महाराजगञ्जस्थित एउटा जुवाघरमा प्रहरीले छापा मारेर ठूलो संख्यामा उच्चस्तरका जुवाडे र ठूलो मात्रामा रकम बरामद गर्नुअघि सरकारकै एक राज्यमन्त्री त्यहाँबाट उम्किन सफल भएका थिए। पक्राउ परेका सबैलाई कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरिरहेको भएपनि सैनिक सेवामा रहेका शाहीलाई भने सेनको आन्तरिक कारबाहीका लागि सैनिक प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update