हिमाल दैनिक
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामाथि खेलबाड किन?
kp sharma oli (2)
पटक पटक विदेशमा गएर नियमित स्वास्थ्य उपचार तथा जाँच गराउँदै आएका मृगौला रोगबाट पीडित प्रधानमन्त्री केपी शर्मा ओली बुधबार एकाएक राजधानीको ग्राण्डी अस्पतालमा भर्ना भए। प्रधानमन्त्री जस्तो देशको कार्यकारी प्रमुख स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नु खासै ठूलो कुरा होइन। तर, राज्यका सम्बन्धित निकायले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यथासम्भव सत्यतथ्य जानकारी आम जनतालाई दिनु पर्छ र यो जनताको अधिकार पनि हो। तर, प्रधानमन्त्री ओलीको अवस्थाबारे उनको निजी तथा सरकारी सचिवालयले समयमा जानकारी बाहिर ल्याउन नसक्दा जनतामा जायज, नाजायज तर्क वितर्क सुरु हुने वातावरण श्रृजना गरिनु सर्वथा गलत हो। यसको जिम्मेवारी प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका जिम्मेवार व्यक्तिहरुले लिनु पर्छ। यसैबीच बुधबार साँझ ग्राण्डी अस्पतालका चिकित्सकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र सम्भवत आज डिस्चार्ज हुने जानकारी बाहिर ल्याएको छ। तर, अस्पताल स्रोतको हवला दिँदै संचारमाध्यमहरुले प्रधानमन्त्री ओलीको अवस्था चिकित्सक अथवा प्रधानमन्त्री ओलीका सहयोगीहरुले दिएको भन्दा फरक रहेको समाचार प्रकाशित गरिरहेका छन्। समाचारमा उल्लेख भएअनुसार, बुधबार ओलीको मृगौलाले उचित काम गर्न नसकेपछि पहिलो पटक डायलाइसिस गरिएको र दोस्रो पटकको डायलाइसिस बिहीबार गरिँदै भनिएको छ। मृगौला प्रत्यारोपण गरेका व्यक्तिको निमित्त डायलाइसिस त्यतिबेला आवश्यक पर्दछ जब उसको त्यो मृगौलाले रगतमा भएका विकारजन्य पदार्थ फिल्टर गरेर रगत सफा गर्ने कार्य गर्न सक्दैन। मृगौला रोगीको लागि गरिने डायलाइसिसको उपचारको खर्च र असर दुबै हिसाबले सामान्य उपचारको रुपमा लिन नसकिने चिकित्सकहरुको भनाइ छ। यदि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य हो भने डायलाइसिसको आवश्यकता किन पर्यो? अथवा समाचारमा आएको कुरा असत्य हो भने प्रधानमन्त्रीको सचिवालय र अस्पतालले किन यसबारे समयमा सत्य तथ्य बाहिर ल्याउन चाहिरहेको छैन? भदौको पहिलो साता सिंगापुरको अस्पतालमा गएर प्लाज्माफेरेसिस पद्धतीको माध्यमबाट उपचार गराई तेस्रो साता स्वदेश फर्किएका प्रधानमन्त्री ओली त्यसयता पर्याप्त आराम गर्ने भन्दा ज्यादा सामान्य अवस्थाको मानिसले भन्दा बढि धपेडीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सक्रिय हुँदा पनि उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार आउन सकिरहेको छैन।
प्रकाशित मिति: सोमबार, कात्तिक ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update